काठमाण्डौं, १३ भदौ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुन: आतंकवादी हमला हुन सक्ने बताउँनु भएको छ ।
उहाँले शनिबार पाएको सूचना अनुसार काबुल विमानस्थलमा ३६ घन्टाभित्र अर्को हमला हुन सक्छ ।
बाइडेनले हिजो शनिबारै जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ : आउने २४ देखि ३६ घन्टासम्ममा अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण हुन सक्ने प्रबल सम्भावना छ ।
बाइडेनले त्यहाँ रहेका अमेरिकी नागरिकको सुरक्षा गर्न सेनालाई निर्देशन समेत दिनुभएको छ ।
यसैबीच काबुलस्थित अमेरिकी दूतावासले आजै आइतबार आफ्ना नागरिकहरूलाई त्यो विमानस्थलमा नजान र विमानस्थलमा भए सुरक्षित ठाउँमा जान आग्रह गरिसकेको छ।
यसअघि गत बिहीबार साँझ काबुल विमानस्थल बाहिर आतंकवादीले दुई वटा आत्मघाती बिस्फोट गराएका थिए । ती विष्फोटक आक्रमणमा १३ अमेरिकी सैनिकसहित कैयौं अफगानीको मृत्यु भएको थियो।
काबुल भएका ती आक्रमणको बदलामा अमेरिकाले आतंकवादीलाई लक्षित गरी अस्ति शुक्रबार ड्रोन आक्रमण गरेको थियो।
उक्त ड्रोन आक्रमणमा विमानस्थलमा आक्रमण गर्ने योजना बनाउने मुख्य योजनाकारको मृत्यु भएको अमेरिकाले दाबी गरेको छ।
स्रोत : अन्तर्राष्ट्रिय समाचार संस्थाहरू
