काठमाण्डौ, १२ भदौ । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार २ सय २२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जानकारी अनुसार यो अवघिमा १ हजार ८ सय ५७ नयाँ संक्रमित भेटिएका छन् ।
यसरी थपिने संक्रमितभन्दा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या आज बढी देखिएको छ ।
यता यो कोरोनाको महामारीमा परेर यै अवधिमा २७ जनाले भने ज्यान गुमाएका छन् । आजसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०६९० जना पुगेको मंन्त्रालयले जनाएको छ । कूल मृतकमा ६० बर्षभन्दा माथिका आधाभन्दा बढी छन् । आजको दिनमा त्यो संख्या ५ हजार ७ सय ५८ छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन विधिद्वारा १३ हजार १ सय ७६ नमूना परीक्षण गरिएको थियो ।
निको हुनेको संख्या बढेसँगै अब नेपालमा ३६८६६ कोरोनाका सक्रिय संक्रमित छन् । त्यसमध्ये ६ सय १५ जनाको विभिन्न अस्पतालको सघनकक्षमा र १ सय ७४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ।
सक्रिय संक्रमितमध्ये होम आसोलेसनमा ३३८३५, संस्थागत आइसोलेसनमा ३०३१ र क्वारेन्टाइनमा ३४६ बसेका छन् ।
उमेर समूहमा हेर्दा २१ देखि ५० बर्षको बीचका व्यक्तिमा कोरोना संक्रमण बढी देखिएको छ । संक्रमण पहिलाभन्दा पुरुषलाई धेरै भएको छ । यो पछिल्लो २४ घण्टामा २१ देखि ३० बर्षका ३६६, ३१ देखि ४० बर्षका ३२९ र ४१ देखि ५० उमेरका २४८ जना कोरोनाबाट संक्रमित भएको पाइएको मन्त्रलयको विवरणमा उल्लेख छ ।
अहिलेसम्म नेपालमा ९१ लाख भन्दा केही बढीले कोरोनाको खोप लगाएका छन् । मन्त्रालयको विवरण अनुसार कोरोनाको एक मात्रा खोप ५० लाख ६३ हजार ५२२ जनाले लगाएका छन् भने पूर्णमात्राको खोप ४० लाख ५२ हजार ७६५ जनाले लगाइसकेका छन् ।
