काठमाण्डौ, ११ भदौ । अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको छ ।
अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १००,००० भन्दा बढीलाई अन्यत्रै लगिएको छ।
तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्।
, अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल घटनाका दोषीमाथि बदला लिने चेतावनी दिएका छन् । ‘हामी माफी दिने छैनौ । हामी बिर्सने छैनौँ । हामी तिमीहरुलाई खोजेर यसको मूल्य चुकाउन लगाउने छौँ,’ उनले भने । उनले यस्ता आतंकवादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धारको कामलाई जारी राख्ने पनि स्पष्ट पारे ।बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै भने, ”हामी आतङ्कवादीहरूसँग डराउने छैनौँ”
बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए।त्यसको केही समय पछि गोली चलेको आवाज आयो।
केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भयो।
अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस-के ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका लागि आएका विमानमा स्थान पाउने आशामा विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो।
उक्त जिहादी समूहले हमलाको जिम्मेवारी लिएको छ। विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ।
हमला हुनसक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धार कार्य रोकेकै दिन विस्फोटको घटना भएको हो।
