म्यानमार, ४ फागुन । म्यानमारमा सैनिक कूको विरोध गरिरहेका प्रदर्शनकारीहरूले आज दक्षिणी शहर मोल्मेइन र रंगुनबीचको रेलवे सेवामा अवरोध पुर्याएका छन् ।
रोयटर्सका अनुसार प्रदर्शनकारीले रंगुन र दक्षिणी शहर मोल्मेइन बिचको रेलवे ट्र्याकमा प्लेकार्ड देखाएर प्रदर्शन गरेका थिए । उनीहरूले गरेको प्रदर्शनका तस्वीरहरू सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् ।
हाम्रा नेताहरूलाई तुरून्त रिहा गर,जनताको अधिकार जनतालाई फर्काई दे भन्दै प्रदर्शनकारीहरूले नारा लगाएका थिए ।
म्यानमारका सडकमा बख्तरबन्द गाडीहरू तथा सेना परिचालन भए पनि प्रदर्शनहरू रोकिएका छैनन् ।
रंगुनका दुई क्षेत्र विश्वविद्यालय क्याम्पस नजिक र केन्द्रीय बैंकमा प्रदर्शनकारी प्रदर्शन र ३० बौद्ध भिक्षुहरूले प्रार्थना गरी विरोध जनाएका थिए ।
म्यानमारमा सरकारी र निजी क्षेत्रका कर्मचारीहरू पनि नागरिक अवज्ञामा सहभागी हुन थालेपछि दुई साताअघि शासन हत्याएको सेना अप्ठेरोमा परेको छ ।
सरकारी र निजी क्षेत्रका कर्मचारीहरूलाई जुन्ता सरकारले दिनदिनै सूचना निकालेर काममा फर्किन भने पनि उनीहरूले नागरिक अवज्ञालाई निरन्तरता दिइरहेका छन् ।
फेब्रुअरी १ मा नागरिक सरकारलाई अपदस्थ गरेर म्यानमारमा सेनाले सत्ता हत्याएको थियो ।
सैनिक कूको विरोधमा अचेल म्यानमारमा दिनदिनै प्रदर्शन र जुलुस भइरहेका छन् ।
काम बहिष्कार गरेर ती जुलुसमा सरकारी र निजी क्षेत्रका कर्मचारी पनि सहभागी हुनाले म्यानमारमा सरकारी कार्यालय र बैंकिङ क्षेत्रको सेवा प्रवाह प्रभावित भएको छ ।
दिउँसो आन्दोलनमा सहभागीलाई राति कर्फ्यूका बेला सुरक्षाकर्मीले गिरफ्तार गर्ने भयले टोलटोलमा नागरिक सुरक्षा समूह बनाएका छन् । डाक्टर, इन्जिनियर प्राध्यापक राति टोल सुरक्षाको ड्युटीमा खटेका छन् । सैनिक सरकारलाई असहयोग गर्ने नागरिक अवज्ञाले म्यानमारका सरकारी र बैंकिङसहितका क्षेत्र ठप्प छन् ।
नागरिक अवज्ञामा पछिल्लो समय केही प्रहरी अधिकारीहरूले पनि साथ दिएको बताइएको छ ।
नागरिकहरूले सैनिक शासनको विरोध गर्न प्रदर्शनबाहेक अन्य सिर्जनात्मक शैली पनि अपनाएका छन्। उनीहरूले सार्वजनिक ठाउँमा ब्यानर र पोस्टर टाँसेका छन् भने आफ्नो पसल छेउमा हातले लेखेर प्लेकार्ड राखेका छन् । एजेन्सी