अमेरिका, ८ भदौ । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले राष्ट्रपति जो बाइडनले अगष्ट महिनाको अन्त्यपछि पनि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने या नराख्ने विषयमा २४ घण्टाभित्र निर्णय लिने बताएका छन्।
राष्ट्रपति बाइडनलाई उहाँका साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नु पर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन्।
मङ्गलवार हुने भर्चुअल जी सेभेनको शीर्ष बैठकमा उक्त विषय प्रमुख मुद्दा हुनेछ।
तालिबानहरूले अर्को हप्ताभन्दा पछिसम्म अमेरिका बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन्।
पछिल्लो २४ घण्टामा झन्डै १६ हजार मानिसहरूलाई उद्धार गरिएको छ।
स्थल सीमाबाट आवतजावत सहज बनाउन अफगानिस्तानका छिमेकीहरूसँग पनि कुराकानी भइरहेको छ।
यसअघि आफ्ना साझेदारहरूबाट उद्धारको समयसीमालाई अगष्ट ३१ बाट बढाउन माग गरिएको भएपनि अमेरिकाले तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट उद्धार कार्य तोकिएकै समयमा सम्पन्न गर्ने बताउँदै आएको थियो।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफू अझै पनि उक्त समयसीमा परिवर्तनको पक्षमा नरहेको बताइरहेको छ।
तर यूके, फ्रान्स र जर्मनीले जी सेभेनको बैठकमा त्यसो नगर्न दबाब बढाउनेछन्।
तालिबानले समयसीमा बढाउनुले सहमतिको उल्लङ्घन हुने जनाएको छ।
हालसम्म अफगानिस्तानबाट दशौँ हजारलाई उद्धार गरिएको छ तर भाग्न खोजिरहेका अरू मानिसहरू काबुल विमानस्थलभित्र वा नजिकै कोचिएर बसिरहेका छन्।
अमेरिकी राष्ट्रपति बाइडेनले अबको २४ घण्टाभित्र फौजहरूको स्वदेश फिर्तीको समयसीमा बढाउने या नबढाउनेबारे निर्णय लिने रोएटर्स समाचार संस्थाले जनाएको छ।
नाम नखुलाइएका एक अधिकारीले पेन्टागनलाई तयारी गर्न समय दिने हिसाबले त्यसो गरिने उनले बताए।
अमेरिकी फौज फिर्ता भए ब्रिटेनका फौजमात्रै बसिरहन सम्भव नहुने जस्तो देखिन्छ
सोमबार काबुल विमानस्थलमा दर्जनौँको भिडले बीबीसीका सेकन्दर केरमानी सामु जम्मा भएर विमानमा आफूलाई चढ्न अनुमति नदिइएको भन्दै आफ्नो कागजपत्र देखाएका थिए।
एकजना क्यानडाली अधिकारीले भिड आक्रोशित हुँदा हिंसा सामान्य बनिरहेको बताए।
अमेरिकी मेजर जनरल ह्यांक टेलरले सोमबार २४ घण्टामा १६ हजार जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।
यसले अगष्ट १४ यता उद्धार हुनेको सङ्ख्या ३७ हजार पुगेको उहाँको भनाइ छ।
अमेरिकी फौज फिर्ता भएपछि तालिबानले अघि बढाएको सत्ता नियन्त्रण अभियान काबुल आइपुग्न लागेपछि उक्त हवाई उद्धार कार्य थालिएको थियो।
हालसम्म उत्तर पूर्वी काबुलमा रहेको पान्जसीर क्षेत्र मात्रै तालिबानको नियन्त्रणमा आउन बाँकी छ।
उक्त क्षेत्र तालिबान विरोधीको गढ हो र त्यहाँ हजारौँ व्यक्तिहरूले लड्न तयार रहेको धारणा राखेका विवरण आएका छन्।बीबीसी
