काभ्रेपलाञ्चोक, २ भदौ ।  कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ ।

गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको मृत्यु भएको थियो । उक्त अवधिका तीन हजार ४५० मा सङ्क्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को तथ्याङ्कमा उल्लेख छ । गतअसार महिनामा नगन्य मात्रामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भए पनि साउनमा मृत्युदर बढेको थियो ।

हालसम्म जिल्लाका १३ हजार ६६५ मा सङ्क्रमण देखिएकामा १८२ को मृत्यु भएको छ । यसमध्ये करिब साढे तीन हजार गत सालका सङ्क्रमित हुन् भने १० हजारभन्दा बढी सङ्क्रमणको दोस्रो लहर सुरु भएयताका हुन् । हालसम्मका कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् १२ हजार ९४० सङ्क्रमणमुक्त भइसकेका छन् । पछिल्लो केही हप्तादेखि सङ्क्रमण र मृत्युदर बढ्न थालेपछि गत साउन २५ गतेदेखि यही भदौ ३ गतेसम्म निषेधाज्ञामा थप कडाइ गरिएको छ ।

हाल दैनिक सङ्क्रमणदर ५० देखि १०० को हाराहारीमा रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पहिलोपटक विसं २०७७ जेठ १ गते जिल्लाको धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट कारण मृत्यु भएको थियो । नेपालमा यो पहिलो घटना हो ।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा सङ्क्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा सङ्क्रमण र मृत्यु भएको केन्द्रले जनायो । “सङ्क्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भन्नुभयो । उहाँका अनुसार यसपालिको सङ्क्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«ेसिङ’मा ढिलाइ हुँदा सङ्क्रमण बढेको अनुमान गरिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर