काठमाण्डौं, २८ साउन । नेपाली काँग्रेसको महाधिवेशन पूर्व निर्धारित समयमा नगरेर पछि सार्ने विषयमा त्यो दलका शीर्ष नेताद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच सहमति भएको छ । तर त्यो महाधिवेशन कहिले र कुन मितिमा गर्ने भन्नेमा भने दुई नेताको कुरो मिलेन ।

पूर्व निर्धारित मिति अनुसार काँग्रेसको १४ औं महधिवेशन अबको भदौ १६ गते शुरु हुनुपर्ने हो । काँग्रेसका शीर्ष नेता र पदाधिकारीको आज विहीबार बसेको बैठकमा महाधिवेशनको त्यो मिति सार्नेमा सहमति जुटेपछि अब पूर्व निर्धारित मिति काँग्रेस महाधिवेशन नहुने पक्का भएको हो ।

सभापति देउवा दशैंपछि गराउने पक्षमा हुनुहुन्छ भने वरिष्ठ नेता पौडेल सकेसम्म भदौ २३ गतेभित्र महाधिवेशन सुरु गर्नुपर्ने अडानमा देखिनुभएको छ । यही विवादको कारण काँग्रेस कार्य समितिको आजै बसेको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका प्रस्तुत हुन सकेन ।

बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेश गर्ने एजेण्डा थियो ।

आज देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारीको बैठका पश्चात् काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक त्यही सुरु भएको छ र यो अवेर साँझसम्म चलिरहेको छ। केन्द्रीय सदस्यहरूको सुझव अनुसार महाधिवेशनको मिति निर्धारण र कार्यतालिका बनाइने बताईएको छ ।

महाधिवेशन, क्रियाशील सदस्यता विवादबारे ठोस निर्णय नै नगरी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ।

कार्य समितिको बैठकमा  महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका पेश गर्नुभयो । त्यसैगरी क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सदस्यताबारे जानकारी गराउनु भयो भने उपसभापति विमलेन्द्र निधिले समायोजन समितिको प्रतिवदेन पेश गर्नुभएको छ ।

केही जिल्लाको कतिपय वडाहरूको क्रियाशील सदस्यता बारे उठेको विवाद समाधान भएको छैन । विवादित जिल्लाबाट काँग्रेस कार्यकर्ताहरू काठमाण्डौ आएर कैयौं दिनदेखि केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएर बसिरहेका छन् । त्यहाँ नेताहरू जानसमेत सकेका छैनन् । पार्टीको बैठक देउवाको निजी आवासमा हुन थालेको छ । धर्नाकारी काँग्रेस कार्यकर्ता आज आफ्नो माग र गुनासो लिएर देउवा निवसमै पुगेका थिए ।

क्रियाशील सदस्यता विवादबारे पनि सभापति देउवा र पौडेलबीच समाधानको एकैविन्दु फेलापरेको छैन ।

देउवा यो विवाद महाधिवेशनपिछ मिलाउने भन्दै हुनुहुन्छ भने वरिष्ठ नेता पौडेल क्रियाशील सदस्यता विवाद टुंग्याएर मात्र कार्यतालिका ल्याउनु पर्छ भन्दै हुनुहुन्छ ।

महाधिवेशनको मिति र कार्यतालिकाबारे स्पष्ट पार्दै काँग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले आज बताउनु भयो : बैठकमा केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा र सुझाव राख्दै हुनुहुन्छ । उहाँहरूको सुझाबपछि महाधिवेशनको मिति र कार्यतालिका दुबै आउँछ र त्यही अनुसार महाधिवेशन हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर