आर्जेन्टीना, २२ साउन । आर्जेन्टीनाका कप्तान अनि स्पेनी क्लब बार्सिलोनाका कप्तान ३४ वर्षीय लियोनेल मेस्सीले उक्त क्लबसँग नयाँ सम्झौता गर्ने ठानिएको थियो तर अब त्यो सम्भव नभएको सो क्लबले जनाएको छ ।
वित्तीय एवम् संरचनागत अवरोधहरुका कारण उहाँको सम्झौता नवीकरण नहुने क्लबले बताएको छ ।
मेस्सीले उक्त क्लबका निम्ति १० पटक स्पेनी लिग उपाधि तथा चारपटक युरोपेली च्याम्पियन्स उपाधी जिताउनुभएको छ ।
उहाँले बार्सिलोनाका लागि अहिलेसम्मकै सर्वाधिक ६७२ गोल गर्नुभएको छ ।
अब उहाँ प्यारिस सेन्ट जर्मान (पीएसजी) क्लबमा आबद्ध हुनसक्ने ठानिएको छ ।
सो फ्रेन्च क्लबका आर्जेन्टीनी कोच मरिसियो पोचेटिनोको च्याम्पियन्स लिग जित्ने महत्त्वाकांक्षा छ ।
जुलाई १ तारिखदेखि नै मेस्सीको बार्सिलोनासँगको सम्झौताको अवधि सकिएकाले उहाँ स्वतन्त्र हुनुहुन्थ्यो ।
त्यसको दुई सातापछि उहाँले घटाइएको ज्याला दरमा क्लबसँग नयाँ सम्झौता पनि गर्नुभएको थियो । तर उक्त सम्झौता बार्सिलोनाले उहाँको तलब बेहोर्नसक्ने गरी यदि अन्य खेलाडीलाई अन्यत्र बेच्न सकेको खण्डमा मात्र लागु हुनसक्थ्यो ।
बार्सिलोनाले यसअघि मेस्सीले क्लबसँगको २१ वर्षदेखिको आबद्धता लम्ब्याउने भनेको थियो तर उसले यसो हुन नसक्नुमा ला लिगालाई दोष दिएको छ ।
मेस्सीले सन् २०२६ सम्म सो क्लबमा रहने सम्झौता गर्नुभएको थियो तर ला लिगाले उहाँ वा अन्य नयाँ खेलाडीलाई दर्ता गर्नु अगाडि क्लबले ज्यालाहरू घटाउनै पर्ने सर्त राख्यो ।
लियोनेल मेस्सी तथा एफसी बार्सिलोना दुवैले एक सहमति गर्नुभएको थियो र दुवै पक्षमा नयाँ करार सम्झौतामा सही गर्ने स्पष्ट नियत हुँदाहुँदै पनि वित्तीय एवम् संरचनागत अवरोधहरू (स्पेनी ला लिगाका नियमहरू)का कारण त्यसो हुन सकेन, क्लबले जनाएको छ ।
एफसी बार्सिलोना क्लबले आफू सम्पूर्ण रूपमा मेस्सीप्रति उहाँले गरेको योगदानका कारण अनुग्रहीत रहेको र उहाँको उज्ज्वल भविष्यको कामना गरेको पनि जनाएको छ ।
आर्जेन्टीनी खेलाडी मेस्सी अब विश्व फुटबल जगतमा सबैभन्दा माग गरिएका खेलाडी बन्नुभएको छ ।
विगतमा उहाँलाई फ्रेन्च क्लब पीएसजी वा इङ्ग्लिश क्लब म्यान्चेस्टर सिटीसँग जोडेर पनि चर्चा भएको थियो ।
साथै अमेरिकाको मेजर लिग सकर पनि उहाँको अर्को विकल्पका रूपमा हेरिएको छ ।
एक वर्ष अगाडि मेस्सीले बार्सिलोना क्लबका मालिकहरूलाई फ्याक्समार्फत् आफू हट्न चाहेको जनाउनुभएको थियो ।
१३ वर्षको उमेरमा सन् २००० मा मेस्सी बार्सिलोना क्लबको चर्चित ला मासिया एकेडेमीमा सामेल हुनुभएको थियो । बीबीसी
