काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को संक्रमणका कारण प्रभावित भए पनि अझै महाधिवेशनको नयाँ मिति तोकेको छैन ।  पार्टीले  गत असार २२ गते केन्द्रीय महाधिवेशन यही  फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।

फागुन ५ गतेको बैठकमा पनि महाधिवेशनको नयाँ मिति भने नतोकिने बताइएको छ । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले महाधिवेशनको नयाँ मिति तोक्न सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको फैसला कुर्ने भएको छ । प्रतिनिधिसभा पुनःस्थापना भयो भने कांग्रेस महाधिवेशन आगामी जेठ मसान्तसम्म र पुनःस्थापना नभई निर्वाचनमा जानुप¥यो भने भदौ पहिलो साता हुन सक्ने उहाँले बताउनुभयो ।

आगामी बैठकमा केन्द्र्रीय कार्यसमितिको समयावधि थप गरिने बताइएको छ । केन्द्र्रीय कार्यसमितिको समयावधि थप गर्दा कांग्रेस पार्टीको विधानानुसार नभई नेपालको संविधानको सहारा लिनुपर्ने हुन्छ ।

कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने र असाधारण स्थितिमा बढीमा एक वर्षसम्मको अवधि बढाउन सकिने उल्लेख छ । काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो । काँग्रेसको विधानानुसार पार्टीको आगामी १४औँ महाधिवेशन यही फागुन २० गतेसम्म उद्घाटन गरिसक्नुपर्छ ।

काँग्रेसले कोभिड–१९ को विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर केन्द्रीय समितिको समयावधि थप गर्ने र महाधिवेशनको मिति सार्ने जनाएको छ । नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । साथै विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्र पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भनी उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर