काठमाडौँ, ३ फागुन । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्नुहुने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षितरूपमा पुनःनिर्माण गरिएको बताउनुभयो । “हामीले मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुने गरी पुनःनिर्माण गरेका छौँ, अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा रहनेगरी हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरूप कार्यकक्ष तथा बैठक कक्ष निर्माण गरिएको छ”, उहाँले भन्नुभयो ।

पुनःनिर्माण सम्पन्न भई उद्घाटन हुन लागेका मोहडा विसं २०३० को आगलागीमा परेपछि विसं २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको थियो । भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अतिरिक्त कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणाली जडान गरिएको छ ।

सिंहदरबार पुनःनिर्माण कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत् यी मोहडाको पुनःनिर्माणमा हालसम्म मूल्य अभिवृद्धि करबाहेक रु ८७ करोड खर्च भएको छ । उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीजस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रबलीकरण भइरहेको छ पश्चिम मोहडा

आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी प्रबलीकरण भइरहेको छ । यो भागलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गरी पुनःनिर्माण गर्ने विषयमा आवश्यक अध्ययन तथा विज्ञबीच छलफलले समय लिएको थियो ।

सम्पदा संरक्षणको दृष्टिकोणले पुरानै शैली र स्वरूपमै बचाउन प्रबलीकरण नै गर्न उपर्युक्त भएको निष्कर्ष आएपछि प्राधिकरणबाट प्रबलीकरण गर्ने कार्य भइरहेको छ । विसं २०७६ असोज २७ गतेदेखि शुरु भएको पश्चिम मोहडाको पुनःनिर्माणको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ ।

सिंहदरबारको इतिहास

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा विसं १९६० (इ.सं १९०३) मा बनाउन लगाएको ऐतिहासिक तथ्य छ । यसको निर्माण शुरू भएको एक वर्षभित्र नै पूरा भएको थियो । निर्माण पूरा हुँदा यसमा एक हजार ७०० वटा कोठा थिए ।

सिंहदरबार निर्माणकालमा एशियाभरिको सबैभन्दा ठूलो दरबार थियो । निर्माणमा त्यस बेला रु पच्चीस लाख खर्च भएको तथ्याङ्क छ । विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखिएको हो । विसं २००७ पछि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालयसहित सबै मन्त्रालय राखिएको थियो ।

विसं २०३० मा यहाँ ठूलो आगलागी भएपछि पछाडिपट्टिको धेरैजसो भाग नष्ट भयो । सिंहदरबारमा आगलागीपछि थुप्रै सरकारी कार्यालय अन्त सारियो । हाल सिंहदरबार पुनःनिर्माण समितिमार्फत् परिसरमा थुप्रै नयाँ भवन बनेका छन् । प्रायः सबैजसो मन्त्रालय फेरि सिंहदरबार परिसरमै स्थापित भइसकेको छ ।

युरोपेली शैलीमा वास्तुकारद्वय कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले डिजाइन गर्नुभएको हो । चन्द्र शम्शेर शिकार तथा कलाका सौखिन भएकाले सिंहदरबारका भित्ता शिकार गरिएका जनावर तथा युरोपेली शैलीका चित्रकलाले सजाइएको थियो । सिंहदरबारका लागि बत्ती तथा अन्य शुङ्गारका वस्तु युरोपबाट मगाइएको हो ।

भूकम्पअघि रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगको कार्यालय पनि यही भवनमा थियो । वेसमेन्टसहित पाँच तले सिंहदरबारको मूल भवनबाटै प्रमुख प्रशासनिक स्थलको नामाकरण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर