काठमाडौँ, १२ साउन  ।   नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको छ ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले क्रियाशील सदस्यताका बाँकी विवाद मिलाउन नेतृत्व तहलाई सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले यही साउन १२ गते क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । बुधबारको पदाधिकारी बैठकले प्रतिवेदनमा परिमार्जनका लागि समितिलाई एक दिनको समय प्रदान गरेको थियो । समितिले केही विवाद समाधान गरी आजको बैठकमा परिमार्जनसहितको प्रतिवेदन प्रस्तुत गरेको उहाँले बताउनुभयो । यद्यपी प्रतिवेदनमा केही विवाद बाँकी नै छन् ।

बाँकी विवाद पदाधिकारी सम्मिलित नेतत्व तहले दुई÷चार दिनमा समाधान गरी केन्द्रीय निर्वाचन समितिलाई प्रतिवेदन उपलब्ध गराउने र प्रभावित भएका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने सहमहामन्त्री डा महतले बताउनुभयो ।

कांग्रेसले २०७७ साल फागुन ६ गते आसन्न १४औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यहरुको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो । १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

संयोजक रमेश लेखकका अनुसार चार लाख नौ हजार ३३ जनाको नवीकरण गरिएको छ भने चार लाख ४३ हजार ६७८ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरिएको छ । क्रियाशील सदस्यता सङ्ख्यामा ७४ दशमलव २६ प्रतिशत पुरुष, २२ दशमलव ६२ प्रतिशत महिला र शून्य दशमलव शून्य दुई प्रतिशत अन्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

पार्टीका केन्द्रीय सदस्य लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरु आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य हुनुहुन्थ्यो । विसं २०७७ फागुन ६ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न १४औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला गरेर प्राप्त भएकाले पूरै बाँकी रहेको छ । त्यस्तै सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समितिले जनाएको छ ।

क्रियाशील सदस्यताको सम्पूर्ण काम समयमै सम्पन्न भएको भए कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज अर्थात साउन १२ गते गाउँ÷नगर वडा अधिवेशन हुने थियो तर समय मै क्रियाशील सदस्यता वडास्तरमा नपुगेका कारण पार्टी पदाधिकारी बैठकले यस अघि नै वडा अधिवेशन स्थगित गरिसकेको छ । कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्ला र क्षेत्रको विवादका कारण उक्त प्रतिवेदन आज १२ दिन ढिला गरी बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर