काठमाण्डौं, १२ साउन । सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।उहाँले यो जिम्मेवारी कायम मुकायमको रूपमा यही साउन २५ गतेदेखि समाल्नुहुनेछ ।
शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहनु भएको छ ।
हालका प्रधानसेनापति पूर्णचन्द्र थापा भदौ २५ बाट सेवा निवृत्त हुँदै हुनुहुन्छ ।
प्रधानसेनापतिले सेवा निवृत्त हुने एक महीनाअघि विदा बस्ने परम्परा अनुरुप थापा यही साउन २४ बाट विदा बस्दै हुनुहुन्छ ।
थापा विदा बस्ने दिनदेखि लागू हुने गरी शर्मालाई कामु सेनापतिको जिम्मेवारी दिन सिफारिस गरिएको हो ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) पूरा गर्गनु भएको छ । उहाँको स्थायी घर धादिङ हो ।
