काठमाडौ, १२ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले प्रधानमन्त्री समक्ष माग गर्नुभएको छ ।

डा.केसीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे ज्ञापनपत्र पठाउँदै सो माग गर्नुभएको हो ।
उहाँले ज्ञापनपत्रमा स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त्य गर्नुपर्ने नभए उनलाई तत्काल पदमुक्त गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

डा.केसीले ‘अब उप्रान्त व्यापारी वा व्यवसायीहरूले नेता वा तिनका परिवारका सदस्यलाई करोडौँ घुस खुवाएर चोरबाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरू डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस्,’ ज्ञापनपत्रमा उल्लेख गर्नुभएको छ ।

उहाँले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल चलिरहेको आन्दोलनका सबै मागहरू पूरा गर्नपनि अनुरोध गर्नुभएको छ ।

उहाँले आफूसँग भएका सबै सम्झौता कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरेका छन्।
चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्थाको पनि माग डा. केसीले गर्नुभएको छ ।

उहाँले यी मागहरू पूरा गर्नुको सट्टा सरकारले सीमित शैक्षिक र मेडिकल माफियाको हितमा काम गरे जस्तोसुकै आन्दोलनका कार्यक्रम ल्याउन सक्ने चेतावनी सरकारलाई दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर