काठमाण्डौं, १२ साउन । नेपाली काँग्रेसको क्रियाशील सदस्य संख्या साँढे आठ लाख भन्दा बढी पुगेको छ । यो संख्या १३ औं महाधिवेशनको भन्दा दोब्बर हो ।

काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले आज मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ८ लाख ५२ हजार ७ सय ११ जनालाई क्रियाशील सदस्यता दिइएको उल्लेख छ।

यसमा विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिबाट थपिनेको संख्या समावेश छैन । ती ठाउँबाट संख्या झन्डै एक लाख सदस्य थपिने अनुमान छ ।

काँग्रेसको २०७२ सालमा भएको १३ औं महाधिवेशनको बेला चार लाख ८० हजार मात्रै क्रियाशील सदस्य थिए।

प्रतिवेदनमा जनाइए अनुसार चार लाख ९ हजार ३३ जना पुरानै सदस्य हुन्। उनीहरूको नवीकरण गरिएको हो। अरु चार लाख ४३ हजार छ सय ७८ जना नयाँ थपिएका हुन् ।

काँग्रेसले क्रियाशील सदस्यता छानबिन गर्न रमेश लेखकको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो । समितिले लगभग डेढ महिनामा यो प्रतिवेदन आज सभापति देउवालाई बुझाएको हो ।

समितिले विवादित जिल्ला वारा, सप्तरी धनुषा आदिको सदस्यता टुंगो नलगाइकनै  प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन अनुसार काँग्रेसमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष क्रियाशील छन् भने महिला एक लाख ९९ हजार ९७ जना छन्। अन्यतर्फ भने १७६ जना छन्।

प्रदेशगत रूपमा हेर्दा, प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना र प्रदेश २ मा एक लाख १२ हजार ९ सय ४६  सदस्य छन् ।त्यसैगरी वगमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर