काठमाडांै, ८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउँदै यसमा आइपरेको चुनौतीको सामना गर्दै अघि बढ्ने बताउनुभएको छ।
उक्त कुरा उहाँले आज पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बताउनुभएको हो ।
कार्यक्रममा उहाँले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिदै भन्नुभयो “हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरूलाई आम माफी दिइन्छ, एम्नेस्टी इज ग्रान्टेड, अनि हामी गद्गद् भयौँ, महाराजाधिराज, हामी गद्गद् भयौँ, वाह वाह वाह, महाराजाधिराज खुसी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो, खुसी हुनु पर्ने भयो, यही हो कम्युनिस्ट पद्धति ? स्पष्टीकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो । मेरो निवासअघि राति मोटरसाइकलमा आएका १५र२० जनाले तर्साउन खोजे तर माधव नेपाल तर्सिने मान्छे हो, फलामको जस्तो शरीर हुन्छ कम्युनिस्टको, त्यत्तिकै डराउँदैन ।”
उहाँले अध्यक्ष ओलीमा अझै चेत आएको छैन भन्दै आफूलाई कुनै किसिमको धम्की र तर्साउने कार्य नहोस आफू त्यस्ता प्रवृतिबाट नतर्सिने स्पष्ट पार्नुभयो ।
नेता नेपालले समारोहमा गफ र बन्दुकले कम्युनिष्ट आन्दोलन अगाडि नबढ्ने बताउँदै समाजवादबाट भागेर जंगलमा गएर मात्र पनि कम्युनिष्ट आन्दोलनको रक्षा नहुने उल्लेख गर्नुभयो ।
उहाँले आफूमा पुष्पलालको विचारधाराको प्रभाव रहेको वताउनुभयो ।
