काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो ।
आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एकजना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो ।
सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो ।
प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् ।
गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए ।
एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए । केपी ओली पक्षकै सांसदहरू प्रेम आले र किसान श्रेष्ठ हिराचन्द्र केसी, पार्वती विशुंखे, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन लगायतले देउवाको पक्षमा मतदान गरेका थिए ।
प्रतिनिधिसभाको अर्काे बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।
