चितवन, २९ असार । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २६५ वटा बच्चा कोरलिएका छन् ।

राप्ती र नारायणी नदी किनारबाट सङ्कलन गरिएका अण्डा प्रजनन केन्द्रमा लगेर कोरलिएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार राप्तीको दुधौरा, हात्तीडाँडी (खोरसोर)लगायतका क्षेत्रबाट २३८ वटा अण्डा सङ्कलन गरिएको थियो ।

नारायणी नदीको भेलौजी र शिसुवारबाट २१० वटा अण्डा सङ्कलन गरिएको हो ।

कूल ४४८ अण्डा सङ्कलन भएकामा ११ वटा न्याउरी मुसाले खाएको उहाँले जानकारी दिनुभयो ।

ती अण्डामध्ये १० अण्डा विदेशी अनुसन्धानकर्ताले इन्कुभेटरमा राखेका थिए ।

त्यहाँबाट सातवटा बच्चा र अन्यबाट २५८ वटा बच्चा कोरलिएका हुन् ।

कूल अण्डाको ५९ प्रतिशत बच्चा कोरलिएको अधिकारीले बताउनुभयो । वैशाखको पहिलो साता अण्डा सङ्कलन गरिएको थियो ।

असार पहिलो साताबाट क्रमशः बच्चा कोरलिएका हुन् । प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर नदीमा छाड्ने गरिन्छ ।

राप्ती, नारायणीलगायतका नदीमा हालसम्म एक हजार ५१५ गोहीका बच्चा छाडिसकिएको छ ।

पछिल्लो गणनाअनुसार नेपालका नदीमा १९८ वटा गोही भेटिएका थिए ।

पानीको बहाव भारततर्फ जाने भएकाले यहाँ हुर्काएर नदीमा छाडिएका अधिकांश गोही भारत पुगेको बताइन्छ ।

हाल प्रजनन केन्द्रमा नयाँ बच्चाबाहेक ५०२ गोही छन् । प्रजनन केन्द्रमा भालेको अभावमा गोहीका बच्चा कोरलिन सकेका छैनन् । गत वर्ष र यस वर्ष अण्डा पारे पनि बच्चा नकोरलिएको निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रजनन केन्द्रमा १२ वटा वयस्क पोथी भए पनि भाले भने एउटा मात्रै छ । सो भाले विसं २०३५ यता रहेको उहाँको भनाइ छ ।

राप्ती नदीको दुधौरा क्षेत्रमा १८१ वटा बच्चा देखिएका छन् । अन्य क्षेत्रमा पनि प्राकृतिकरूपमा बच्चा कोरलिएको पौडेलले जानकारी दिनुभयो । निकुञ्जले केही अण्डालाई प्राकृतिकरूपमा छाडेर केहीलाई प्रजनन केन्द्रमा ल्याउने गर्दछ । विश्वमा नै लोप हुने अवस्थामा पुगेपछि नेपालले पनि गोहीको संरक्षण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु