काठमाण्डौ, १९ असार । इटाली र स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रबेश गरेका छन । इटालीले विस्वको नंबर एक बरियताको टीम बेल्जियमलाई २- १ गोल अन्तरले र स्पेनले पेनाल्टी शूट आउटमा स्वीजरल्याण्डलाई ३-१ ले पराजीत गरेका हुन ।
शनिबार विहान भएको फुटबलमा इटालीले निकै राम्रो प्रदर्शन गरेको थियो । दुई गोलका कारण जित निकाल्दै इटालीले यसपटक आफ्नो अविजित यात्रालाई ३२ औं खेलमा पुर्याएको छ । इटालीका लागि आजको खेलमा निकोलो बरेला र लोरेन्जोले गोल गरेका हुन । यी दुवै गोल पहिलो हाफमा भएका थिए ।पहिलो हाफको निर्धारित ४५ मिनेटसम्म २-० ले पछि परेको बेल्जियमका जेरेमी डोकुमाथि भएको फाउलमा पेनाल्टी पाएको थियो । पेनाल्टीलाई रोमेलु लुकाकुले गोलमा गरेका थिए ।
यूईएफए युरो कप अन्तर्गत शुक्रबार राती भएको क्वाटरफाइनलको पहिलो खेलमा स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ। रसियाको सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
स्वीजरल्याण्डको आत्मघाती गोलमार्फत स्पेनले अग्रता लिएको थियो। खेलको ८ औं मिनेटमा डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन पुगेको थियो। ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले जेद्रान साकिरीको गोलमा बराबरी गरेको थियो।
निर्धारित तथा अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
स्पेनले पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले सेमिफाइनलमा स्थान बनाएको हो । पेनाल्टीमा स्पेनका डेनी ओल्मो, ग्रान्ड मोरेनो र मिकेल ओल्जाबर्गले गोल गर्दा सर्जियो बुस्केटले गोल गर्न चुकेका थिए । स्विट्जरल्यान्डका लागि मारियो गारोगेन्भिकले गोल गर्दा फावियन साचार, मेनियोल अन्कान्जि, रुवेन भार्गासले गोल गर्न सकेनन् ।
