तनहुँ १७ असार  । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिनुभयो । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको उहाँले बताउनुभयो । घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताउनुभयो । घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका कारण जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले जानकरी दिनुभयो ।

मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर