काठमाडौँ, १६ असार । लोकसेवा आयोग लगायत विभिन्न संवैधानिक आयोगहरूमा २० पदाधिकारीलाई गरिएको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीव्दारा प्रस्तुत पूरक रिट निवेदन दर्ता भएको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र विभिन्न संवेधानिक आयोगहरूमा संवैधानिक परिषद्ले गरेको सिफारिसविरूद्धका मुद्दा विचाराधीन रहेको अवस्थामा उक्त पदाधिकारीलाई नियुक्ति गरिएको भन्दै रिट निवेदन दर्ता गरिएको कुरा वरिष्ठ अधिवक्ता त्रिपाठीले वताउनुभएको छ ।
सो निवेदन दर्ता भएको कुरा सह रजिस्ट्रार एवं मुद्दा तथा रिट महाशाखा प्रमुख बाबुराम दाहालले जानकारी दिनुभएको हो ।
अहिलेको पूरक रिटलाई अध्यादेशविरूद्ध र संवैधानिक परिषद्को सिफारिसविरूद्धको मूल रिट निवेदनसँग राखेर सुनुवाइका लागि पेसीमा चढाइने सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपतिले असार १० गते विभिन्न संवैधानिक आयोगहरूमा २० पदाधिकारी नियुक्त गर्नुभएको थियो ।
