मनाङ, १६ असार । मस्र्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । झोलुङे पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ ।
बाढी पहिराले शुरुआतमा यहाँको तल्लो भागमा क्षति पु¥याएको भए पनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।
“बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पु¥याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ, विपद्लाई रोक्न नसकिने रहेछ”, लामिछानेले भन्नुभयो, “निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिराको जोखिम बढेको छ, बाढीपहिराले बस्ती बस्ने ठाउँ केही बाढीले बगाइसकेको छ, केही भाग अति जोखिममा छन् ।” बाढीको प्रभाव बिस्तारै माथिल्लो भागतर्फ सरेको आभाष भइरहेको उहाँले बताउनुभयो ।
माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एकमात्र पुल बाढीले बगाएपछि एकापसमा सम्पर्क तथा आवतजावत रोकिएको ङिस्याङ–१ का वडाध्यक्ष भुजुङ गुरुङले जानकारी दिनुभयो । “जनताको सुरक्षाको व्यवस्थापन गर्नुपर्ने अभिभावक हुँ, केहीलाई सुरक्षित गराउनुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतर्फ मेरै घर बाढीले आधा तानिसकेको छ”, उहाँले भन्नुभयो ।
पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ–१ का वडा सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । जोखिममा परेको ती घरपरिवारलाइै माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घर जोखिममा रहेको उहाँले बताउनुभयो । बाढीको जोखिम बढ्दै गएपछि जिल्लावासी त्रसित भएका छन् ।
अस्थायी सडक मर्मतको काम शुरु
सडक सञ्जाल टुटेको मनाङमा अस्थायी सडक मर्मतको काम शुरु गरिएको छ । बाढीपहिराले क्षति बनाएको सडक तथा पुलमा तत्काल अस्थायीरुपमा पुनः सञ्चालन गराउने उद्देश्यका साथ काम शुरु भएको प्रजिअ लामिछानेले बताउनुभयो ।
अविरल वर्षाका कारण जिल्लामा मस्र्याङ्दी नदी र विभिन्न खोलामा आएको बाढीपहिराका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । जिल्लामा गत जेठ १४ गतेदेखि नै बाढीपहिराका कारण सडक तथा पुलमा आंशिकरुपमा क्षति पुगिसकेको थियो ।
जोखिमयुक्त मोटरेबल पुल जोगाउन प्राविधिक टोली आउँदै
सदरमुकाम चामे बजार जोड्ने जोखिमयुक्त मोटरेबल पुल जोगाउन काठमाडौँबाट प्राविधिक टोली आउँदैछ । बाढीपहिराका कारण ड्याम बनेर बसेको मस्र्याङ्दी नदी खुलाउन र मोटरेबल पुल जोगाउन काठमाडौँबाट प्राविधिक टोली यहाँ आउँदै गरेको प्रजिअ लामिछानेले बताउनुभयो ।
चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने जोखिमयुक्त मोटरेबल पुलमा मस्र्याङ्दीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा निकाल्ने क्रममा गत आइतबार स्काभेटरसहित अपरेटर फसेका थिए ।
नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ । उहाँले नेपाली सेनामार्फत बम विस्फोट गराई मस्र्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताउनुभयो ।
सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । लगातारको वर्षाले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताउनुभयो । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उहाँले जानकारी दिनुभयो ।
–––
