, काठमाडौँ, १५ असार । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन् ।

विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् । अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ रहेको छ । यसअघि एक हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ ।

सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, “अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ, अहिले रुवाण्डाको जनशक्ति घटेको छ, त्यसबाट हामी चौथोबाट तेस्रोमा उक्लिएका हौँ । नेपालसँग सयुंक्त राष्ट्रसङ्घले केही समयअघि थप ४५० शान्ति सैनिकको माग पनि गरेको छ ।”

सन् १९५८ मा लेबनानबाट विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाउन शुरु गरिएको हो । विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पु¥याएवापत ६३ वर्षको अवधिमा नेपाली सेनाले एक लाख ३५ हजार ३४३ थान शान्ति (युएन) पदक प्राप्त गरिसकेको छ ।

अनुशासित, व्यावसायिक र साहसिक सैनिकका रूपमा स्थापित नेपाली सेनाले ‘शान्ति मिसन’ यात्रामा द्वन्द्वपीडित जनताको मन जित्दै शान्ति कायम राख्न सिपालु ‘पिस च्याम्पियन’को छवि बनाएको छ । नेपाली सेनासँग संसारका ४२ वटा शान्ति मिसनमा खटिई काम गरेको अनुभव छ ।

मिलनसार र उत्कृष्ट ढङ्गबाट जिम्मेवारी पूरा गरेकै कारण संयुक्त राष्ट्रसङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको छ । नेपालले संयुक्त राष्ट्रसङ्घबाट माग भई आएमा १० हजारसम्मको सङ्ख्यामा फौज पठाउन सक्ने प्रतिबद्धता जाहेर गरिसकेको छ । नेपालले योगदानका आधारमा प्राप्त गरेको सिरियामा तैनाथ अन्डोफ शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारीमा हाल रथी ईश्वर हमाल हुनुहुन्छ । यसअघि कृष्णनारायण थापा, भिक्ट्री राणा, बालानन्द शर्मा, पवनजङ्ग थापा, प्रधान सेनापति पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि प्रतिबद्ध समावेशी चरित्रको नेपाली सेना विश्व शान्तिस्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा पहिलो पङ्क्तिमा रहेर काम गर्दै आएको छ । विश्व शान्तिका लागि यस अवधिमा ६८ नेपाली सैनिकबाट आफनो जीवनको बलिदानी भइसकेको छ । यस अवधिमा ६६ जना सैनिक गम्भीर घाइते भएका छन् ।

मानव अधिकारको पूर्ण पालना, द्वन्द्व व्यवस्थापन र मानवीय सहायतामा नेपाली सेनाबाट हुँदै आएको कार्यको विश्व समुदायबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । द्वन्द्वग्रस्त मुलुकमा शान्तिस्थापना गर्ने कार्यमा संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाप्रति निकै ठूलो आसा, भरोसा र विश्वास राखेको छ

शान्ति सैनिक पहिलो पटक खटाउने सन्दर्भमा निकै संवेदनशील मानिएका लाइबेरिया, कङ्गो, सुडानलगायतका मुलुकमा नेपाली सेनाले अग्रपङ्क्तिमा रही महत्वपूर्ण जिम्मेवारी सम्हालेको घटनाको सर्वत्र प्रशंसा हुँदै आएको छ । शान्तिस्थापनार्थ गरेको योगदानका आधारमा ‘फोर्स कमाण्डर’को नेतृत्व र जिम्मेवारी पाउनुपर्छ भनी नेपालले संयुक्त राष्ट्रसङ्घलाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर