म्याग्दी, २७ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्न व्यस्त छन्। नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ सङ्कलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामानसहित जङ्गलमै गोठ बनाएर बसेका छन् । “तीन जनाले च्याउ खोज्नुहुन्छ, मैले जङ्गलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उनले भने, “करिब दैनिक ५० किलोग्राम च्याउ सङ्कलन र बिक्री भइरहेको छ ।”

नगेनले शुक्रबार करिब रु ४० हजारको रातो च्याउ बिक्री गरेको बताउनुभयो । लेकाली क्षेत्रका बासिन्दा च्याउ पलाउने याम सुरु भएपछि जङ्गल पसेका छन् । प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको स्रोत बनेको छ । च्याउको सुरक्षाका लागि पलाउने ठुटाको नजिकै बसेर ओगट्ने चलन छ ।

मध्यजेठदेखि मध्यअसारसम्म र मध्यभदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो । समुन्द्री सतहदेखि तीन हजारदेखि चार हजार मिटर उचाइका जङ्गलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा प्राकृतिक रूपमा बर्खायाममा उम्रने रातो च्याउ तरकारीको रूपमा उपभोग हुन्छ ।

पोसिलो, अर्ग्यानिक र औषधीय गुण पाइने तथा स्वादिलो हुने भएकाले रातो च्याउको माग उच्च हुने गरेको धवलागिरि गाउँपालिका–३ मुनाका मनबहादु पुनले बताए । “मासुको विकल्पमा पनि रातो च्याउको उपभोग हुने गर्छ,” उनले भने “रातो च्याउ पोसिलो र तागतिलो तरकारीको रूपमा परिचित छ ।”
ताजाका साथै प्रशोधन र सुकाएर पनि रातो च्याउ उपभोग गर्न सकिन्छ । बजारमा बस्ने र विदेशमा पुगेकाले रातो च्याउको चाहना गर्ने गरेका मुनाका व्यवसायी रुपा शेरपुञ्जाले बताइन् । गाउँबाट सहर र विदेशमा कोशेलीको रूपमा रातो च्याउ पठाउने चलन रहेको छ ।

सडक यातायातको सुविधासँगै लेकाली क्षेत्रका बासिन्दाले जङ्गलमा रातो च्याउ टिपेर एकै दिनमा बेनी र पोखराका बजारमा पुर्‍याउन थालेका धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । “रातो च्याउ बेरोजगारको लागि रोजगारी र आम्दानीको स्रोत बनेको छ,” उनले भने “स्थानीयले सङ्कलन गर्ने च्याउलाई बजारीकरणका लागि व्यापारीसँग समन्वय गरेका छौँ ।” सडक यातायातको सुविधा नहुँदा सुकुटी बनाएर रातो च्याउ बेच्ने गरेका थिए ।

ताजा रातो च्याउ प्रतिकेजी रु एक हजारका दरले किनबेच भइरहेको छ । सुकुटी बनाएको प्रतिकेजी रु चार हजारदेखि पाँच हजारसम्म पर्छ । रातो च्याउमा प्रोटिन र विभिन्न मिनरल्स तत्त्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउ खेती प्रविधि पुस्तिकामा उल्लेख छ ।

रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ । वस्तिदेखि टाढाको जङ्गलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो छैन । रातो च्याउ सजिलै चिन्न सकिने भएकाले विषालु च्याउको जोखिम भने नहुने बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर