काठमाडौँ, १९ भदौ । सरकारले भोटेकोशी हिमबाढी पीडितको पुनःस्थापना यथाशीघ्र गर्न सुरक्षित जग्गा पहिचानका निम्ति भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठित समितिले पुनःस्थापनाका लागि आवश्यक पहल लिन प्रारम्भिक कार्य थालेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले समितिलाई बाढीका कारण घरजग्गामा क्षति भई विस्थापित भएका, सोही स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको छ ।

समितिले हिमबाढीपीडित परिवारको पहिचानदेखि पुनःस्थापनाका लागि आवश्यक जग्गाको छनोट, स्थलगत अध्ययन, प्रारम्भिक विपत् जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानुनी प्रक्रियासम्मका विषय समेटेर स्पष्ट सुझाव तथा सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने म्याण्डेट पाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर