काठमाडौं, १८ भदौ, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार राति २०:०० बजे सम्म १ हजार २ सय ८० जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १ सय ४० जना, नुवाकोटमा १ सय ८५ जना, धादिङमा ६० जना, चितवनमा ३ सय ५९ जना, गोरखामा ७२ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १८ जना र नवलपरासी पश्चिम १ सय ९० जना र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी १ हजार २ सय ८० जनाको शव फेला परेको हो ।
साथै घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । जसमध्ये १ जनाको टिचिङ अस्पताल र १ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २ सय ८ महिला, ३ सय ३५ पुरूष र ३ सय ८३ नखुलेको गरी जम्मा ९ सय २६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । साथै पहिचान नभएको १ हजार ६९ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ३२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय ९८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ६ सय ३१ जना व्यक्तिहरूलाई राखिएको छ ।
हालसम्म उद्धार गरिएकाहरुको सङ्ख्या १२ हजार ३८, हालसम्म सनाखत भइ बुझिलिएको शवको सङ्ख्या ९५, हालसम्म उपचार गरिएका घाइतेको सङ्ख्या पाँच हजार ३८४ रहेको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।
