काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिशमा विभिन्न संवैधानिक निकायमा नियुक्त गर्नुभएको छ ।
नियुक्त भएकामा महानुभावहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा बागलुङका डा. हरि पौडेल, ललितपुरका डा.सुमित्रा श्रेष्ठ(ब्यान्जु) रहनुभएको छ ।
यस्तै लोक सेवाको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मी, सदस्यहरुमा क्रमशः कपिलवस्तुका माधव बेल्वासे, इलामका वीरबहादुर राई, ललितपुरका दिनेश सिलवाल र महोत्तरीकी मञ्जु कुमारी हुनुहुन्छ ।
यसैगरी निर्वाचन आयोगको निर्वाचन आयुक्तमा रुपन्देहीका सगुन शम्शेर जबरा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा पाँचथरका विपिनराज निरौला, राष्ट्रिय महिला आयोगको सदस्यहरुमा धनुषाकी जया घिमिरे, पर्वतकी सावीत्रा कुमारी शर्मा र काठमाडौँका सुन्दर पुर्कुटी हुनुहुन्छ ।
राष्ट्रिय समावेश आयोगको अध्यक्षमा कास्कीका डा. रामकृष्ण तिमल्सिना, सदस्यहरुमा पर्वतका पुष्पराज तिमिल्सिना, बझाङका मानप्रसाद खत्री नियुक्त हुनुभएको छ ।
कार्यालयले आदिवासी जनजाति आयोगको सदस्यमा खोटाङका सुर्यबहादुर गुरुङ, मधेशी आयोगको सदस्यमा सप्तरीकी आभा कुमारी, थारु आयोगको सदस्यमा नवलपरासीका डा. उमाशंकर प्रसाद चौधरी र मोरङकी शान्ति मोदी र मुस्लिम आयोगको सदस्यमा सर्लाहीका मोहम्मद समशुल हक रहुनभएको छ ।

