स्पेन, १० असार । एन्टिभाइरस सफ्टवेयर व्यवसायी जोन म्याकाफी बार्सिलोनाको एक जेलमा मृत फेला परेका छन् ।

स्पेनको अदालतले उनलाई कर छलीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको केही घण्टापछि उनी मृत फेला परेका हुन् ।

क्याटालान न्याय विभागले जेलका स्वास्थ्यकर्मीले उनलाई बचाउन प्रयास गरे पनि असफल भएको जनाएको छ ।

एक विज्ञप्तिमा विभागले सबै कुराले म्याकाफीले आत्महत्या गरेको सङ्केत दिएको बताएको छ ।

पहिलो एन्टिभाइरस सफ्टवेयर निर्माता

प्रविधि उद्योगमा विवादास्पद छवि बनाएका म्याकाफीको कम्पनीले विश्वको पहिलो एन्टिभाइरस सफ्टवेयर बजारमा ल्याएको थियो ।

म्याकाफी भाइरसस्क्यानले करोडौँ डलरको उद्योग स्थापना गर्न अग्रणी भूमिका खेल्यो । पछि सो सफ्टवेयर कम्पनी ७६ करोड डलरमा इन्टेलले किनेको थियो ।

सन् २०२० को अक्टोबरमा स्पेनबाट टर्की जाने विमान चढ्ने क्रममा म्याकाफीलाई पक्राउ गरिएको थियो । उनीमाथि लाखौँ डलर कमाए पनि चार वर्षदेखि आयकर नतिरेको आरोप लगाइएको थियो ।

अमेरिकी न्याय मन्त्रालयले उनीमाथि साथीभार्इ र अन्यको नाममा रहेको ब्याङ्क खाता र क्रिप्टोकरेन्सीमा आम्दानी राखेर कर जिम्मेवारी छलेको आरोप लगाएको थियो ।

विवादास्पद छवि

विलासी डुङ्गा र जग्गाजमिन पनि अरूको नाममा राखेर लुकाएको आरोप उनीमाथि थियो ।

स्पेनको राष्ट्रिय अदालतले बुधवार बिहान उनलाई अमेरिकालाई सुपुर्दगी गर्न स्वीकृति दिएको थियो ।

हालैका वर्षमा म्याकाफीले आफूलाई राजनीतिक कारणले पक्राउ गर्ने प्रयास गरिएको दाबी गरे पनि अदालतले यस्तो कुनै प्रमाण नरहेको बताएको स्पेनको पत्रिकाले जनाएको छ ।

उनले सन् २०१६ र सन् २०२० मा लिबेटारीयन पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने असफल प्रयास गरेका थिए ।

जोन म्याकाफी

इङ्गल्यान्डमा जन्मिएका म्याकाफी सन् १९८० को दशकमा एन्टिभाइरस निर्माण गरेर चर्चामा आएका थिए ।

कम्प्युटर सुरक्षामा अग्रणी भए पनि उनले एक पटक बीबीसीलाई आफूले कहिल्यै कुनै पनि एन्टिभाइरस प्रयोग नगरेको बताएका थिए ।

कर गैरकानुनी भएको दाबी
सन् २०१३ मा उनले आफू भाइरस सार्न सक्ने साइटमा नजाने गरेको बताएका थिए ।
उदाहरणको लागि म पोर्न साइटमा जान्न उनले भनेका थिए ।

सन् २०१९ मा म्याकाफीले आफूले आठ वर्षदेखि कर नतिरेको बताउँदै कर गैरकानुनी भएको ट्वीट गरेका थिए ।

सोही वर्ष उनलाई डोमिनिकन गणतन्त्रमा गैरकानुनी रूपमा हतियार भित्र्याउन खोजेको आरोपमा केही समयमा लागि गिरफ्तार गरिएको थियो ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर