काठमाडौँ, १८ असार । प्रतिनिधिसभाको आजको बैठकबाट सम्पत्ति शुद्धिकरण ९मनि लाउन्डरिङ० निवारण ९तेस्रो संशोधन० विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको दफावार छलफल र अर्थमन्त्री डा स्वर्णिम वाग्लेको जवाफपछि बहुमतले विधेयक पारित गरेको हो ।
विधेयक माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री डा वाग्लेले भ्रष्टार, आर्थिक अपराधका विषयलाई कसरी रोक्न सकिन्छ भन्नेमा सार्थक बहस गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा १३ निकायले चलाउन सक्ने भन्दै व्यापक छलफलबाट आर्थिक अपराधिक गतिविधि रोक्नुपर्नेमा जोड दिनुभयो ।
“पूर्वाग्रह प्रेरित भएर कसैलाई दुःख दिने नियत राखेर विधेयक ल्याउन खोजिएको भन्ने आरोप छ । यो आरोप झुटो हो । सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्न दुरुपयोग ग¥यौँ भने हामी ग्रे लिष्टबाट निष्कन सक्दैनौँ”, उहाँले भन्नुभयो, “वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ ।”
छलफलमा सांसदहरू गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, एशुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती विक, महेन्द्रबहादुर शाही, हरिमोहन भण्डारी र बलावती शर्माले भाग लिनुभएको थियो ।
आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित भएको छ ।
बैठकमा सोसम्बन्धी भएको दफाबार छलफल, सम्बन्धित मन्त्रीको जवाफ र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत भएपछि बहुमतबाट विधेयक पारित भएको हो ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सदनमा विधेयकमाथि दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्र्रस्तुत गर्नुभएको थियो । अध्यादेशलाई प्रतिस्थापन गर्न उक्त विधेयक सदनमा ल्याइएको हो ।
