जेनेभा, ७ असार । मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुने भएको छ । वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि युरोप प्रस्थान गर्नुभएको छ । यसैबीच, इरानले लेबनानमा इजरायली आक्रमण जारी रहेको भन्दै ‘स्टे«ट अफ हर्मुज’ पुनः बन्द गर्ने घोषणा गरेको छ ।
युरोप प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रम तथा लेबनान युद्धबिरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गर्नुभयो ।
गत शुक्रबार हुने तय भएको अनुवर्ती वार्ता इजरायलले लेबनानमा घातक आक्रमण गरेपछि अन्तिम समयमा स्थगित गरिएको थियो । इजरायली सैनिकका चार सदस्यको मृत्यु भएपछि ती आक्रमण गरिएको जनाइएको छ ।
अमेरिकाले शुक्रबार लेबनानमा युद्धबिराम पुनः लागू भएको घोषणा गरे पनि शनिबार इजरायली सेना र हिज्बुल्लाहबीच पुनः झडप भएको थियो । दुवै पक्षले एकअर्कामाथि युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
इरानको केन्द्रीय सैन्य कमाण्डले अमेरिकाले प्रारम्भिक सम्झौताको पालना नगरेको तथा दक्षिणी लेबनानमा इजरायलले निरन्तर युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाउँदै ‘स्टे«ट अफ हर्मुज’मा जहाज आवागमनका लागि पुनःबन्द गरिने घोषणा गरेको छ ।
विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने ‘स्टे«ट अफ हर्मुज’ युद्धको अधिकांश अवधिमा इरानले अवरुद्ध गरेको थियो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेशकियानबीच भएको प्रारम्भिक सहमतिअनुसार ‘स्टे«ट अफ हर्मुज’ खुला गरिएको थियो ।
इरानको घोषणापछि अमेरिकी केन्द्रीय कमाण्डले अन्तरराष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन कायम रहेको र अमेरिकी सेना सतर्क अवस्थामा रहेको जनाएको छ ।
यसैबीच राष्ट्रपति ट्रम्पले वार्ताबाट अन्तिम सहमति ननिस्किए अमेरिकाले हर्मुजमार्फत हुने आवागमनमा आफ्नै शुल्क प्रणाली लागू गर्न सक्ने चेतावनी दिनुभएको छ ।
इरानी प्रतिनिधिमण्डलमा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सहभागी रहनुभएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएइले प्रारम्भिक सम्झौताअनुसार अर्को पक्षले आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने माग वार्तामा उठाइने बताउनुभयो ।
अमेरिकी वार्ताकार जारेड कुशनर र स्टिभ विटकफ भने वार्तास्थलमा पुगेर प्राविधिक विषयमा छलफल गरिरहेको जनाइएको छ ।
मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनीर पनि उच्चस्तरीय वार्तामा सहभागी हुन स्विट्जरल्याण्ड प्रस्थान गरेको जनाएको छ । वार्ताको मुख्य उद्देश्य प्रारम्भिक सहमतिबाट समाधान हुन बाँकी विषय, विशेषगरी इरानको आणविक कार्यक्रमबारे दुई महिनाको वार्ता प्रक्रिया सुरु गर्नु रहेको बताइएको छ ।
यसैबीच दक्षिणी लेबनानमा इजरायल र हिज्बुल्लाहबीच तनाव कायमै रहेको छ । इजरायली सेनाले झडपमा एक सैनिकको मृत्यु भएको जनाएको छ । अमेरिकी–इरान सहमतिपछि यो पाँचौँ सैनिक मृत्यु हो ।
इजरायली सेनाले हिज्बुल्लाहले दक्षिणी लेबनानस्थित आफ्ना सैनिकमाथि ५० भन्दाबढी क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ । हिज्बुल्लाहले भने युद्धबिरामको आडमा इजरायलले दक्षिणी लेबनानतर्फ घुसपैठ प्रयास गरेपछि आफूले प्रतिकार गरेको जनाएको छ ।
लेबनानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली हवाई आक्रमणमा करिब २० स्थान प्रभावित भएका छन् । आक्रमणमा ३० भन्दाबढी व्यक्तिको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्मको द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या चार हजार नाघेको छ ।
दुवै पक्षले युद्धबिराम उल्लङ्घनको जिम्मेवारी एकअर्कामाथि थोपरेका छन् । दक्षिणी लेबनानका विस्थापित स्थानीयवासीले उक्त क्षेत्रमा अझै त्रास कायम रहेको बताएका छन् । एएफपी
