काठमाडौँ, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँहरुसँग मञ्चमा रहनुभएका अतिथिहरुले पनि एकै साथ घण्टी बजाउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा )एमाले(का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देल सहभागी हुनुहुन्छ ।

यसै गरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको सहभागिता रहेको छ ।

समारोहमा प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता वालेन्द्र शाहले वर्तमान सरकार ‘एक्स्प्रेस’ गाडी भएकाले गन्तव्यमा पुगेपछि मात्रै राकिने बताउनुभएको छ ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै उहाँले कतिपय राजनीतिक पार्टीहरुले सरकारको गति अनियन्त्रित हुने त होइन भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै भन्नुभयो, “हाम्रो सरकार ‘एक्स्प्रेस वे’मा गुडिरहेको गाडी हो, यो गन्तव्यमा पुगेर ब्रेक लाग्छ, अनियन्त्रित छैन ।”

महाधिवशेनको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा केही राजनीतिक दलका नेताले दिनुभएको सुझावलाई पार्टीले गम्भीर रुपले लिएको जनाउँदै प्रधानमन्त्री शाहले अहिलेको जनमतलाई स्वीकार गर्न आग्रह गर्नुभयो । रास्वपाको वैचारिक दृष्टिकोणका बारेमा चिन्ता नलिन आग्रह गर्दै उहाँले रास्वपा विकासवादी पार्टी भएको बताउनुभयो । “रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साँध्ने पार्टी होइन, पुराना कुरालाई लिएर निहुँ खोज्ने पार्टी होइन”, उहाँले भन्नुभयो ।

सरकारी सम्पत्ति र रकम दोहन भएको अवस्थामा विद्यमान सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने उहाँको भनाइ थियो । प्रधानमन्त्री शाहले भन्नुभयो, “सरकारले नियमकानुन मिच्दैन, नियममै बसेर काम गर्छ, नियमभन्दा बाहिर जाँदैन, हामी निहुँ खोज्ने पार्टी होइन ।”

‘हाम्रो भूमिको प्रमाण हामीसँग छ’

प्रधानमन्त्री शाहले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै ती भूभाग नेपालकै भएको प्रमाण सरकारसँग रहेको बताउनुभयो ।

“हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, तर ब्रिटिसकालीन शासनका समयमा यससम्बन्धी कुनै प्रमाण छ भने सहयोग लिन खोजेका हौँ”, उहाँले भन्नुभयो, “हामी छिमेकीसँग आफैँ कुरा गरेर सीमासम्बन्धी विषय मिलाउँछौँ, हामीसँग हाम्रो भूभाग रहेको प्रमाण छ । त्यसमा आशङ्का लिनु पर्दैन ।” आफ्नो राष्ट्रियताप्रतिको दृष्टिकोणमा कसैले पनि आशङ्का मान्नु नपर्नेमा उहाँको प्रष्टीकरण थियो ।

‘पार्टीमा गुट, उपगुट नगरौँ ’

वरिष्ठ नेता शाहले पार्टीको महाधिवेशनमा गुट उपगुट बनाउने पुराना पार्टीका अभ्यासलाई रास्वपाले स्थान नदिने बताउनुभयो । “राम्रो नेता र राजनीतिज्ञ बन्नलाई जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन, समूह बनाउनेतर्फ नलाग्नुहोला, त्यो बिउ अहिले नै नरोप्नु, कि भोलि त्यो रुख बनेर बीचबाट फाँड्नु नपरोस् । हामीले पुरानाहरुबाट यो सिक्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले रास्वपा नयाँ पार्टी भएकाले नयाँ सोचका साथ अघि बढेको स्पष्ट पार्नुभयो । “हामीले यही कार्यकालमा सुकुमबासी र सहकारी ठगीसम्बन्धी समस्या समाधान गर्छौँ । आगामी चुनावमा यही ‘एजेण्डा’ बोकेर जाँदैनौँ, अब नयाँ एजेण्डा लिएर जान्छौँ”, प्रधानमन्त्रीले भन्नुभयो ।

अहिले रास्वपाको सरकार भएकाले हरेक मन्त्री, सांसद, पदाधिकारी, केन्द्रीय सदस्य, कार्यकर्ता र जनता नै प्रधानमन्त्री भएको उहाँको भनाइ थियो । पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “आज, भोलि र पर्सी पार्टीका बारेमा सोचौँ, त्यसपछाडि पाँच वर्ष देशका बारेमा सोचौँ ।”

यसैगरी सो पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्नुभएको छ ।

चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात गरी कसैप्रति पनि प्रतिशोध नसाँध्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरुबीच भएका वैमनस्यता पनि यहीँबाट अन्त्य गरी सहयोग र सहकार्यका साथ देश र जनताको पक्षमा काम गर्ने उल्लेख गर्नुभयो ।

पार्टीभित्र गुट–उपगुटको अभ्यास हुन नदिने उल्लेख गर्दै सभापति लामिछानेले महाधिवेशनमार्फत एकताको सन्देश दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पुराना राजनीतिक दलले बेहोरेको अनुभवबाट पाठ सिकेर गुटरहित ढङ्गले अघि बढ्न सके रास्वपालाई कुनै शक्तिले पराजित गर्न नसक्ने उहाँको भनाइ थियो ।

“रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरू कसैको तागत छैन”, उहाँले भन्नुभयो, “गुट र उपगुटले दिने फल विषालु हुन्छ । त्यस्तो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने अवस्था आउँछ । हामी अहिले कस्तो बीउ रोप्ने भन्ने मोडमा छौँ ।” रास्वपा देशको साझा राजनीतिक मञ्चका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उहाँले पछिल्लो समय गैरराजनीतिक क्षेत्रका व्यक्ति पनि राजनीतिमा आउन थालेको बताउनुभयो ।

सभापति लामिछानेले नेपाली कांग्रेस र नेकपा ९एमाले०भित्र देखिएका समस्या समाधान गर्न सुझाव दिँदै समस्या समाधान नभए त्यसले मुलुकलाई नै अप्ठ्यारो पर्ने बताउनुभयो । “हामीले इतिहासलाई जवाफ दिनुपर्नेछ । राष्ट्रिय राजनीति राम्रो हुन हाम्रो पार्टी मात्रै राम्रो भएर पुग्दैन, अरू दल पनि सुध्रिनुपर्छ”, उहाँले भन्नुभयो, “कांग्रेस र एमालेभित्र देखिएका अप्ठ्यारा समाधान भएनन् भने देशलाई समस्या पर्छ ।”

सभापति लामिछानेले पूर्वसहमति अनुसार नै सरकार अघि बढेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले लक्ष्यअनुसार काम गरिरहेको बताउनुभयो । “सरकार सञ्चालन गर्ने पूर्वसहमति अनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको छ । गोल हान्ने जिम्मा उहाँलाई नै छ । झुक्किएर मेरो खुट्टामा बल आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पुर्‍याउने जिम्मा मेरो हो”, लामिछानेले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर