काठमाडौं २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेहरुमा उपत्यकामा उपलब्ध पार्टीका केही पदाधिकारी, नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, सदस्य एवं कार्यकर्ताहरू रहेका छन् ।

राप्रपा नेतृत्वको कमजोरी एवं आत्मकेन्द्रित शैलीका कारण सम्भावनाहरू क्षीण हुँदै गएको, पार्टीको वैचारिक आधार र मान्यता लत्याउँदै, एकता महाधिवेशनको म्यान्डेट नजरअन्दाज गर्दै, केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेको आरोप राण पक्षको छ ।

राणा पक्षले पार्टी परित्याग गरेको पत्र सार्वजनिक गर्दै भनेका छन् “संवैधानिक राजसंस्था पुनस्थापना गर्ने लक्ष्य लिएको पार्टीको मूल नेतृत्व गणतन्त्र सुदृढीकरण गर्न किन अग्रसर भयो ”

केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समितिलगायत वैधानिक थलोमा पटकपटक प्रश्न उठ्दा सम्बन्धित पक्षबाट स्पष्टीकरण कहिले उपलब्ध नभएको पनि राणा पक्षको भनाइ छ ।

जेठभित्र महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय कार्यसमितिको वैधानिक निर्णय उल्लंघन गरेको, राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर