काठमाडौँ, ११ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धादिङ दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति थापाले आज शोक विज्ञप्ति जारी गरी पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु र २७ जना घाइते भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।
सभापति थापाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
कांग्रेसले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई न्यूनीकरण गर्न गराउन सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा आज बिहान भएको बस दुर्घटनामा ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ ।
उहाँले पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको दुःखद् खबरले म अत्यन्त मर्माहत भएको बताउनु भएको छ ।
सामाजिक सञ्जालमार्फत संयोजक दाहालले दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । उहाँले घाइतेहरूको शीघ्र उद्धार र प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग आग्रह गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि धादिङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस आज बिहान १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका भैंसेगौडामा दुर्घटना भएको थियो । उक्त बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ ।
उक्त घटनामा ज्यान गुमाएका सबैप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामना गरेको छ । रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जारी गर्नु भएको शोक विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । रासस
