महेन्द्रनगर (धनुषा), ११ माघ : मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।

विभिन्न चार वटा कलष्टरतर्फ भएका निर्वाचनमा फरक–फरक दलका उम्मेदवार विजयी भएका छन् । महिला कलष्टरतर्फ नेकपा (एमाले) की रेखा झा सात हजार २२२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की शमीकुमारी अग्रवालले एक हजार ९४४ मत प्राप्त गर्नुभयो भने जनता समाजवादी पार्टी (जसपा) की चन्द्रकलादेवी साहले ३२२ मत प्राप्त गर्नुभयो । यस कलष्टरमा ३५७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

अल्पसङ्ख्यक कलष्टरतर्फ नेपाली कांग्रेसका रञ्जित कर्ण आठ हजार ९३ मतसहित विजयी हुनुभएको छ । नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ मत तथा जसपाका शैलेशकुमार चौधरीले २७७ मत प्राप्त गर्नुभयो । यसतर्फ ११४ मत बदर भएको छ ।

दलित कलष्टरतर्फ नेपाली कांग्रेसका धर्मेन्द्र पासवान सात हजार ९०४ मतसहित निर्वाचित हुनुभएको छ । नेकपाका शम्भु पासवानले एक हजार ३७६ मत र जसपाकी चमेलीदेवी दासले २०९ मत प्राप्त गर्नुभयो । यस कलष्टरमा १८६ मत बदर भएको जनाइएको छ ।

अन्य कलष्टरतर्फ जसपाका महन्थ ठाकुर सात हजार ७२५ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले एक हजार ८०५ मत प्राप्त गर्नुभयो भने ३१५ मत बदर भएको छ ।

निर्वाचन कार्यालयका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मधेस प्रदेशमा कूल १०० प्रदेशसभा सदस्यमध्ये ९९ जना तथा २६४ पालिका प्रतिनिधि (प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष) मध्ये २४२ जनाले मतदान गरेका थिए ।

सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

सुदूरपश्चिम, ११ माघः राष्ट्रियसभा निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा (एमाले) की लिलाकुमारी भण्डारी विजयी हुनुभयो । अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी हुनुभएको हो ।

कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।

यस्तै महिलातर्फ विजयी एमालेकी भण्डारीले तीन हजार ९८४ मतभार पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६७६ मतभार पाउनुभयो । कुल २२४ मतदाता रहेकामा ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष गरी २२० मतदाताले मतदानमा भाग लिनुभयो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, प्रदेशसभा सदस्यद्वय नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा र राप्रपाकी खेमादेवी विष्ट, कैलालीको जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया मतदानमा अनुपस्थित रहनुभयो । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित दुई सदस्य पदको पदावधि आगामी फागुनमा सकिन लागेकाले यी दुई पदका लागि निर्वाचन भएको हो ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका एक सदस्य निलम्बनमा पर्नुभएको र अर्का एक सदस्यले राजीनामा दिनुभएको छ । यस्तै ८८ पालिका तहका प्रमुख, उपप्रमुख÷अध्यक्ष, उपाध्यक्ष गरी १७६ मतदाता छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको चुनावमा गठबन्धन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर