काठमाडौँ, ९ माघ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले समयानुसार कांग्रेस बदलेको र अब देश बदल्ने प्रतिबद्धता गर्नुभएको छ ।
केन्द्रीय कार्यालयमा आज पद बहाल गरेपछि उहाँले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ प्रतिबद्धता जनाउनुभएको हो ।
“यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ, हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,” सभापति थापाले उल्लेख गर्नुभएको छ । आजै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।
कांग्रेस प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचारप्रसार समिति गठन
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, बैठकले कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता चालिसेले जानकारी दिनुभयो । साथै केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने पनि निर्णय उहाँले बताउनुभयो ।
प्रवक्ता चालिसेका अनुसार आजकै बैठकले पार्टीका तर्फबाट सभापति थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
