काठमाडौँ, २९ पुसः नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रस्ताव पारित भएका छन् ।
सोमबारको बन्दसत्रमा महामन्त्री थापाले राख्नुभएको समसामयिक राजनीतिक प्रस्ताव र शर्माले राख्नुभएको पार्टीको साङ्गठनिक प्रस्ताव आजको बन्दसत्रले पारित गरेको हो ।
सोमबारदेखि सुरु भएको बन्दसत्रमा सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिका छुट्टाछुट्टै नौ समूह बनाएर गहन छलफल गरी आज पारित गरिएको हो ।
यस्तै, आजै दिउँसोदेखि निर्वाचनका कामलाई समेत अगाडि बढाइएको छ । आज उम्मेदवारी दर्ता गरी बुधबार मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो ।
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताउनुभएको छ ।
नेपाली कांगेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाधिवेशको बन्दसत्रको दोस्रो दिन आज सम्बोधन गर्दै उहाँले आफूलाई पदका लागि विशेष महाधिवेशन नगरिएको स्पष्ट पार्नुभयो ।
महामन्त्री थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्न सबैले पाउनुपर्ने भन्दै आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आँफैमा विद्रोह भएको धारणा राख्नुभयो । “यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले पार्टीभित्र गुठ भन्दापनि गिरोह बढ्दै गएको भन्दै पार्टीलाई बदल्न जरूरी रहेको उल्लेख गर्नुभयो । उहाँले बाहिरको हल्लाको पछि नलाग्नसमेत सबैलाई आग्रह गर्नुभयो । “अहिले बाहिर अनेक हल्ला चलाइएको छ, कोही भागबण्डाका लागि भनिएको छ, म हल्लाको पछि लागेको छैन, तपाईहरू पनि नलाग्नुस्”, उहाँले भन्नुभयो,“यो हलको म्याण्डेटलाई हामी सबैले मान्नुपर्छ । बाहिर हुने कुनै सहमतिलाई पनि यो हलले अपनत्व लिएपछि मात्रै अगाडि बढ्छ ।”
महामन्त्री थापाले पार्टीको विशेष महाधिवेशनलाई उपलब्धिपूर्वक ढङ्गले टुङ्ग््याउनुपर्ने बताउनुभयो ।
