काठमाडौँ, २९ पुसः नेपाली कांग्रेसको यहाँ जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहनुभएको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिनुभयो । यही पुस २७ र २८ गतेका लागि आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदन उपर छलफल जारी रहेकाले आजसम्मका लागि लम्बिएको हो ।
कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।
महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या सोमबार साँझसम्म ६३ प्रतिशत पुगेको जनाइएको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनप्रति पार्टी संस्थापन पक्षले विमति जनाएको छ ।
