काठमाडौँ, २७ पुस : नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन  भएको छ ।

विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गर्नुभयो । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटनअघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका थिए ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा मञ्चको व्यवस्था गरिएको छ भने मञ्च अगाडि हजारौँ सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नुभएको छ ।

विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ । गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो ।

विशेष महाधिवेशनलका सन्दर्भमा पार्टीको संस्थापन पक्षले भने असहमति जनाएको छ । पार्टीको संस्थापन पक्षले नियमित महाधिवेशनको तालिका तोकेर प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ ।

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले मुलुकको वर्तमान अवस्था संवेदनशील रहेको उल्लेख गर्दैै पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितका पक्षमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि यहाँ सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताउनुभयो । साथै उहाँले विशेष महाधिवेशन पार्टीको विधानअनुसार भएको दाबी गर्दै मुलुकको वर्तमान राजनीतिको भावनाअनुसार पार्टीको नेतृत्व युवाको काँधमा आएको उल्लेख गर्नुभयो ।

कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा तथा कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा, बैतडीका सभापति चतुरबहादुर चन्द र ललितपुरका सभापति जितेन्द्र श्रेष्ठलगायतका नेताले जेनजी आन्दोलनपछि विकसित राजनीतिक सन्दर्भ र पार्टीभित्रको परिवर्तित चाहनाअनुरुप विधानसम्मत विशेष महाधिवेशन भएको स्पष्ट गर्नुभयो ।

पार्टी सभापतिलाई बन्द सत्रलाई सम्बोधन गर्न नेताहरुको आग्रह
नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको भोलि हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गरी पार्टीलाई एकताबद्ध तुल्याउन पार्टी सभापतिलाई आग्रह गर्नुभयो ।

भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीमा देखिएका सबैखाले समस्या समाधान हुने विश्वास गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले विशेष महाधिवेशनले पार्टी विधानसम्मत ढङ्गले चल्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको बताउनुभयो । यस अधिवेशनले पार्टीभित्र अरूको कुरा सुन्न नचाहने प्रवृत्तिलाई परास्त गरेको उहाँको धारणा छ ।

नेता डा चन्द्र भण्डारीले पार्टीका नेताहरुले देश र जनताको सम्मान गर्दै युवा पुस्ताले उठाएको माग र मुद्दालाई सम्बोधन गर्नेतर्फ हाम्रा पाइला उन्मुख हुनुपर्ने बताउनुभयो ।

अर्का नेता विनोद चौधरीले नेपाली जनता राजनीतिक स्थिरतासँगै आर्थिक क्रान्ति पर्खेर बसेकाले उनीहरुको मागलाई कांग्रेसले ध्यानपूर्वक सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । नेता देवराज चालिसले पार्टीको विशेष अधिवेशन पार्टीको आन्तरिक जीवनसँग मात्र जोडिएको नभई जेनजी आन्दोलन र समग्र मुलुकको रुपान्तरणसँग सरोकार रहेको बताउनुभयो ।

नेता केदार कार्कीले लोकतन्त्रको फाइदा नेतृत्व वर्गले मात्रै पाएँ जनताको आवाज सुनेनन् भनेर जेनजी पुस्ताले गरेको विद्रोहको भावनालाई लोकतान्त्रिक पार्टी र अनुभवी नेताले सम्बोधन गर्न सक्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर