काठमाडौँ, २६ पुसः उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएसँगै आज बसेको सो पार्टीको बैठकले अध्यक्षमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिपुरेश्वरको उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
अब यो पार्टी चिम चुनाव चिन्ह लिएर आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछ।वैकल्पिक राजनीतिक शक्ति निर्माणको नाममा भएको सहमति अन्ततः पद, भूमिका, नेतृत्वको विवादका कारण १२ दिनमै भंग भयो ।
बैठकपछि पत्रकार सम्मेलन गरी नवनियुक्त अध्यक्ष घिसिङले रास्वपासँग भएको सहमति भङ्ग भएको घोषणा गर्दै अब आफ्नो छुट्टै पार्टीको चुनाव चिह्न लिएर प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो पार्टीलाई पदका लागि मोलमालाई गर्यौँ भन्ने आरोप लागेको छ, यो गलत छ । यसअघि म वरियता क्रममा तल रहेर उपाध्यक्ष पदमा बसेको थिएँ । समावेशिता, सङ्घीयता लगायतको विषयमा पूरक सम्झौता नभएपछि एकता तोडिएको हो ।”
अध्यक्ष घिसिङले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजै बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा चयन गरेको छ । उनेपालाई आगामी दिनमा मेरो नेतृत्वमा देशव्यापी अभियानअन्तर्गत प्रभावकारी रूपमा चुनावी गतिविधिलाई अगाडि बढाउनेछु ।
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भङ्ग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भङ्ग भएपछि आज बसेको रास्वपा सचिवालय बैठकले कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष निकालेको नेता शिशिर खनालले बताउनुभयो ।
घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँड्फाँड गर्नुपर्ने, पार्टीका अन्य पदाधिकारीमा पनि आफ्नो पार्टीका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएपछि एकता भङ्ग भएकाबारे सभापति रवि लामिछानेले बैठकमा जानकारी गराउनुभएको उहाँले बताउनुभयो ।
पार्टी एकताका क्रममा भएको सहमतिभन्दा फरक र छुट्टाछुट्टै पूरक प्रस्ताव आउन थालेपछि एकता अगाडि बढ्न नसकेको रास्वपाको दाबी छ । एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्मको बाँडफाँडको प्रस्ताव आएपछि एकतालाई पूर्णता दिन समस्या भएको नेता खनालको भनाइ छ ।
यसअघि दुई दलबीच भदौ २३ र २४ को जेनजी आन्दोलन, भ्रष्टाचारविरोधी चेतना, सुशासन र मेरिटोक्रेसीको नारालाई मूल आधार बनाउनेलगायत सातबुँदे सहमति भएको थियो ।
