काठमाडौ, ६ पुस । अमेरिकाले हरेक वर्ष आप्रवासन दर न्यून भएका देशका ५० हजार नागरिक अमेरिका लैजाने उध्देश्यले स्थापना गरिएको डिभी लोटरी कार्यक्रम स्थगित गरेको छ ।
अमेरिकी गृहमन्त्री कृष्टी नोयमले आफ्नो एक्स अकाउन्टमा पोस्ट लेखेर डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने घोषणा गर्नुभएको छ ।

ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृहमन्त्री नोएमले डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने निर्णय भएको बताउनुभएको छ ।

गोलीकाण्डमा संलग्न भएका व्यक्ति डिभी लोटरी कार्यक्रमबाटै ८ वर्षअघि अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले त्यस्तो निर्देशन दिएको भनेर न्यूयोर्कबाट प्रकाशन हुने सिबिएस न्युजले जनाएको छ।

अधिकारिहरूका अनुसार क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी नाम गरेका ४८ वर्षीय पोर्चुगिज नागरिक सन् २०१७ मा डिभीमार्फत अमेरिकामा प्रवेश गरेका थिए। अमेरिका प्रवेशको केही वर्षपछि उनले ग्रीन कार्ड पाएका थिए।

उनी २००० मा विद्यार्थी भिसामा ब्राउन विश्वविद्यालयमा स्नातकोत्तर पढ्न अमेरिका आएका थिए। त्यसको दुई वर्षमै उनी कलेजबाट बाहिरिएका थिए।

गोलीकाण्डको घटनापछि अमेरिकाले आप्रवासी नीतिमा कडाइ गरेको छ। सीमानामा पट्रोलिङ बढाउनेसँगै अन्य माध्यमबाट अमेरिका प्रवेश गर्ने माध्यममा समेत कडाइ गरेको छ।

गत महिना वाशिङ्टन डिसीस्थित ह्वाइट हाउसनजिक भएको गोलीकाण्डको घटनापछि विभिन्न मुलुकहरूका नागरिकलाई अमेरिका प्रवेशमा समेत रोक लगाएको छ।

त्यस्तै विभिन्न देशका नागरिकहरूले प्राप्त गरेको ग्रीन कार्ड समेत पुनरवलोकन गर्ने निर्णय गरेको थियो।

सिबिएस न्युजका अनुसार डिभी कार्यक्रम १९९० को दशकदेखि लागू भएको थियो।

अहिले उक्त कार्यक्रममा सहभागी हुन माध्यमिक शिक्षा अनिवार्य रूपमा पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

गृहमन्त्री नोएमले त्यस्तो घोषणा गरे पनि कार्यान्वयन पक्ष सजिलो नरहेको पनि सिबिएस न्युजले लेखेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर