काठमाडौँ, ५ मङ्सिरः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले मुलुकमा सङ्कट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताउनुभएको छ ।
सो सङ्गठनको केन्द्रीय कमाण्डको घोषणा गर्न आज बबरमहलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यो कसैका विरुद्ध नभइ हिंसा र अराजकताविरुद्ध गठन गरिएको बताउनुभयो । यसले जनधनको रक्षा, औद्यागिक प्रतिष्ठानको सुरक्षामा सहयोग पु¥याउने उल्लेख गर्दै उहाँले सुरक्षा निकाय र सामाजिक संस्थासँग मिलेर काम गर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाबाट मुलुकको राजनीतिक निकास हुन्छ भन्ने पार्टीको अडान दोहर्याउनुभयो ।
एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा
नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ ।
एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ ।
संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गर्नुभयो । टोलीमा सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले रहनुभएको छ । टोलीलाई पार्टीका अध्यक्ष ओलीले बधाई दिँदै सपथसमेत गराउनुभयो ।
फोर्समा पार्टीका विभिन्न जनसङ्गठनबाट प्रतिनिधित्व हुने र ती सङ्गठनबाट जिम्मेवारी लिइसकेका व्यक्तिलाई पनि समावेश गरिने नेता ढकालले बताउनुभयो । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सुरक्षाका लागि फोर्सले काम गर्ने बतउनुभयो ।
गत असोज १५ गते भक्तपुरको गुण्डुमा उक्त फोर्स घोषणा कार्यक्रममा केन्द्रीय टोली सार्वजनिक गर्ने जनाइएको थियो ।
