रोल्पा, २२ जेठ । रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् ।
गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
“सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा संवेदनशील अङ्गमा सुमसुम्याउँदै जबर्जस्ती करणी गर्न खोजेको भन्ने पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्”, प्रहरीले वताएको छ ।
सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो हर्कत गर्नु अत्यन्तै जघन्य अपराध भएकाले प्रहरीले अत्यन्तै संंवेदनशील भई कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
हिरासतमा रहेका पौडेललाई जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान थालिएको वताइएको छ ।
एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी किशोरीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले करणी प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
युवती कोरोना सङ्क्रमित रही होम आइसोलेशनमा बस्दै आएकी थिइन् ।
