काठमाडौँ, १९ जेठ ।  देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको सङ्ख्या कम नभएको हो ।

एक सातायताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको छ । मङ्गलबार अस्पतालमा कोभिडका लागि छुट्याइएका श्ययामा २२५ र अरू श्ययामा २१० बिरामी थिए । अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामी कम नभएकालाई वार्डमा राख्ने कम नभएको अस्पतालका निर्देशक डा रबि शाक्यले बताउनुभयो । दैनिक झण्डै २५ नयाँ बिरामी आइरहेका छन् । उहाँले भन्नुभयो, “बच्चाको एनआइसयुबाहेक अरू आइसियु सधैँ भरिभराउ रहेका छन् ।”

‘फिबर क्लिनिक’मा आउनेका सङ्ख्या केही कम भइरहेको अस्पतालका निर्देशक डा शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “एक सातायता पिसिआर परीक्षणका लागि अस्पताल आउनेको सङ्ख्या पनि घटिरहेको छ ।”

अस्पतालमा आएका बिरामीका आधारमा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितमध्ये गम्भीर समस्या हुनेको अनुपात बढी छ । पहिले बढी उमेर समूह, दीर्घ रोग भएका व्यक्तिमा मात्रै गम्भीर समस्या भएको थियो । अहिले सबै उमेर समूहमा अक्सिजन वा आइसियु चाहिने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर