काठमाडौ, २३ भदौ । सरकारले भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध विरोधमा आफूलाई जेन जी भनेर चिनाउने युवा पुस्ताका प्रदर्शनकारीहरूको विरोध प्रदर्शन हिन्सात्मक भएपछि काठमाण्डूमा स्थानीय प्रशासनले संसद् भवन परिसर लगायतका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ।

बिहान माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू नयाँबानेश्वरस्थित संसद् भवनतिर गएका थिए। शान्तिपूर्ण प्रदर्शन अराजक बन्दै गएको र निषेधित क्षेत्र तोडिएकाले उक्त निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डूका प्रवक्ता मुक्तिराम रिजालका अनुसार १२ः३० बजे देखि राति १० बजेसम्मका लागि राष्ट्रपति निवास शीतलनिवास, उपराष्ट्रिको कार्यालय, नारायणहिटी दरबार सङ्ग्रहालय र बानेश्वर संसद् भवन आसपासको क्षेत्रमा कर्फ्यू लगाइउको छ ।

प्रदर्शनकारीहरूले सङ्घीय संसद्को बैठक बस्ने नयाँ बनेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिक आगो लगाउनुका साथै प्रदर्शनकारीहरू संसद् भवन परिसरमा प्रवेश गरेका थिए । उक्त प्रदर्शनले गर्दा आज दिउँसोका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बुधवारका लागि सारिएको छ।

स्थानीय प्रशासनले कर्फ्यूको घोषणा गरेलगत्तै काठमाण्डूको सडकमा नेपाली सेनाको टुकडी तैनाथ गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताउनुभयो ।

प्रदर्शनका क्रममा कति पक्राउ परे भन्ने यकिन सङ्ख्या आउन बाँकी रहेको छ। प्रदर्शन नेपालगन्ज, बुटवल, कैलाली,वीरगन्ज, विराटनगर,डडेलधुरामा पनि भएमको छ ।
प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। घाइतेको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर