काठमाडौं,१६ असारः नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५ औं महाधिवेशनको मिति तत्काल तोकेर तल्लो तहसम्मका कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग माग गर्नुभएको छ। आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै महाधिवेशनको अनिश्चितताले पार्टी पंक्तिमा अन्योल बढाएको र सांगठनिक गतिशीलतामा असर पारेको बताउनुभयो।

उहाँले भन्नुभयो, “महाधिवेशनबारे अनेक भ्रम छरिएका छन्। यसले पार्टी पंक्तिमा अन्योल बढाएको छ। विधान अनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५ औं महाधिवेशनको कार्यतालिकासहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन।”

बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण, सरकारको कामकारबाही, गठबन्धनको भविष्य र पार्टीको आगामी रणनीतिका विषयमा महरले विस्तृत र बुँदागत रूपमा आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो।

उहाँले बढ्दो बाम धुर्वीकरण र “गठबन्धन दुर्घटना”को जवाफदेहिता नेतृत्वले लिनुपर्ने र शक्ति सन्तुलनका लागि संवैधानिक नियुक्तिहरूमा पार्टीको स्पष्ट अडान हुनुपर्नेमा जोड दिनुभयो।

समग्रमा, केन्द्रीय सदस्य महरले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरण, सरकारको कामकारबाहीको गम्भीर समीक्षा, आगामी महाधिवेशनको स्पष्ट मार्गचित्र र पार्टीका सबै तहमा जवाफदेहिता स्थापित गर्नुपर्ने ,घोषणा पत्रको अडिटको विषयलाई समेत सशक्त रूपमा प्रस्तुत गर्नुभएको थियो। शिक्षा विभाग प्रमुख समेत रहेका नेता महरले विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघ – सरकारबीचको वार्ताका बिषयमा समेत पार्टीको ध्यानाकर्षण गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर