काठमाडौँ, १५ जेठः प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ ।
चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदर भन्दा माथि रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रू ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ र सेवा क्षेत्रको योगदान ६२.०१ रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा जानकारी गराउनुभयो ।
चालु आवको फागुन मसान्तसम्मको अवस्थाअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको आर्थिक सवेक्षणमा उल्लेख छ ।
विपक्षीले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न दिने
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायत विपक्षी दलहरुले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न दिने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गर्दै आइरहेका विपक्षी दलहरुले आजको बैठक सञ्चालन गर्न सहमत भएका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भ हुनेबित्तिकै विपक्षी दलका सांसद आसनबाट उभिएका थिए । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय उपलब्ध गराउनुभएको थियो ।
प्रमुख सचेतक पाण्डेले आर्थिक सर्वेक्षण र आगामी आर्थिक वर्षको बजेट पेस गर्नका लागि मात्रै आफूहरुले सदनमा अवरोध नगरेको अवगत गराउँदै उक्त विषय निरुपण नभएसम्म आगामी बैठकमा विरोध जारी रहने बताउनुभयो ।
आजै अपराह्न ३ः०० बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
