काठमाडौँ, ५ जेठ : गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रामहरि खतिवडाले केही समयअघि टोखामा समातिएको सुनमा चालकमात्र समातिएको, त्यसका साहु को हो ? भन्ने अहिलेसम्म सार्वजनिक नभएकाले सदनलाई जानकारी गराउन माग गर्नुभयो । आइतबार पनि रसुवामा अवैध रूपमा ओसारपसार भइरहेको सुन समातिएको थियो ।

धेरै पैसा लिएर महिला कामदारलाई हाउस मेडका रूपमा विभिन्न देश पठाउन थालिएकाले कानुन बनाएर मात्र विदेश पठाउने व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो । सांसद मनिष झाले न्यायालयप्रतिको विश्वास कम हुन थालेकाले विश्वास बढाउने वातावरण मिलाउन माग गर्नुभएको थियो ।

सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लामा १४६ प्रकारका गुठी रहेको र त्यसका कारण किसान पीडामा रहेकाले विधेयक ल्याएर गुठी समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद मैना कार्कीले कर्णालीलाई दया नभई सम्भावनाको दृष्टिकोणले हेर्न माग गर्र्दै जडीबुटी, अर्गानिक कृषिलगायत विषयमा कर्णालीको पहिचान बनेकाले त्यसको प्रवद्र्धन गर्ने गरी बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद रणकुमारी बलम्पाखी मगरले घरेलु मदिरा उत्पादनलाई मान्यता दिने नीति बजेटमार्फत ल्याउन माग गर्नुभयो ।

सांसद रमा कोइराला पौडेललले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले भक्तपुरको हनुमन्ते खोला किनारमा ढल बिच्छ्याउन सुरू गरेकामा अलपत्र भएकाले छिटो सम्पन्न गर्न माग गर्नुभयो । सांसद रामशङ्कर यादवले सुरू गरिएका योजना पूरा गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गर्नुभयो ।

सांसद रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलगायतलाई प्रवर्द्धन गर्नेगरी विशेष बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

बैठकमा सांसदहरू  मेटमणि चौधरी, मेनकाकुमारी पोखरेल, राजेन्द्र बजगाइँ, रूपा सोसी चौधरी, रोशन कार्की, लक्ष्मी तिवारी, लालवीर चौधरी, लेखनाथ दाहाल, बिजुला रायमाझी, रणेन्द्र बरालीलगायतले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर