काठमाडौँ, ८ जेठ । कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाँइमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले आज विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । महामारीविरुद्ध खोप, जीवन रक्षक औषधि, उपकरणलगायत सहायता सामग्री अमेरिकी र स्वीस सरकारले विशेष विमानबाट पठाएका ती सामग्री सम्बद्ध अधिकारीहरूले नेपाल सरकारलाई आजै हस्तान्तरण गरेका छन् ।
त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज भएको सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्याप्लरले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई एघार लाख थान एन्टिजेन टेष्ट किट, १० थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान अक्सिजन नेजल क्यानुला, ४० वटा भेन्टिलेटर, एक लाख १० हजार वटा के एन ९५ मास्क, ५० हजार वटा पञ्जा, १५ हजार थान व्यक्तिगत सुरक्षा उपकरण, १२० वटा मास्क फर हमिल्टन टीआई, १४० थान सर्किट भल्भ फर हमिल्टन टीआई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी अमेरिकाबाट प्राप्त सहायता सामग्री अन्तर्राष्टिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी) र यहाँस्थित अमेरिकी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई हस्तान्तरण गरेका उक्त मन्त्रालयले जनाएको छ । अमेरिकी सहायताको यो पहिलो खेप हो । मालबाहक अमेरिकी विमानबाट सहायताका अरु दुई खेप नेपाललाई प्राप्त हुने र यो सहयोग युएसएआईडीमार्फत यसअघि अमेरिकाबाट प्राप्त अतिरिक्त सहायता भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्राप्त सहायता सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा, १०० थान भेन्टिलेटर, कोरोना जीवाणु परीक्षण गर्ने उपकरण, एक हजार थान अक्सिजन सिलिण्डर, चिकित्सा अक्सिजन प्रयोगका निम्ति आवश्यक पर्ने अन्य वस्तु छन् । अमेरिकी सरकारले उदात्त भावनाका साथ गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सरकारले त्यसबाट दुई देशबीचको लामो समयदेखिको मैत्री प्रतिबिम्बित भएको बताएको छ ।
