काठमाडौँ, १२ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ । सरकार गठन भएको दश महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकामा उहाँले आपत्ति व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव पुनले वर्तमान सरकारले आम जनताका निराशा र असन्तुष्टि हटाउन नसकेको आरोप लगाउनुभयो । सरकारले प्रतिपक्षी दलसँग प्रतिशोध साँध्ने काम गरेको उहाँको भनाइ थियो ।
सांसद पुनले सरकार गठनका क्रममा भनिएको संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले नेपाल भूकम्पको उच्च जोखिमका रहेको उल्लेख गर्दै सम्भावित विपत्को पूर्वतयारीमा यथेष्ट ध्यान दिएर काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै रुकुपश्चिम, जाजरकोट र बझाङमा गत वर्ष गएको भूकम्पका पीडितलाई राहतको व्यवस्था गर्दै पुनःनिर्माणको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गुर्नभयो ।
भारतको जम्मु कस्मिर क्षेत्रमा पर्यटकप्रति लक्षित गरी भएको हिंसात्मक आक्रमणको सांसद पुनले भत्र्सना गर्नुभयो । उहाँले सडकमा आन्दोलनरत शिक्षकको माग पूरा गर्ने विधेयक चाँडो संसद्बाट पारित गर्न माग गर्नुभयो । सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित सङ्घीय प्रहरी विधेयक र निजामती सेवा विधेयकसहित लामो समयदेखि रोकिएका विधेयक पारित गर्नुपर्नेमा सांसद पुनले जोड दिनुभयो ।
बजेट छर्ने काम नगर्न सरकारलाई सांसद अर्यालको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले राष्ट्रिय समस्याको पहिचान र नागरिकको दैनिकीसँग जोडिएका उल्झनको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, बजेटलाई यथार्थपरक बनाउन र जनताको समस्या समाधानमा केन्द्रित गर्न आग्रह गर्नुभयो ।
शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा बजेट बनाउन सरकारलाई सुझाव दिँदै अर्यालले सामाजिक न्याय र समावेशितालाई ख्याल गर्न सुझाव दिनुभयो । कनिका छरे जसरी बजेट छर्ने काम नगर्न सरकारलाई सचेत गराउँदै उहाँले अनुत्पादक खर्च कटौती, भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।
गभर्नर नियुक्तिमा सरकारले तमासा देखाएको आरोप लगाउँदै सांसद अर्यालले शिक्षक, चिकित्सक, सहकारी पीडितलगायतको असन्तुष्टि सम्बोधन गर्नेतर्फ ध्यान नदिइएको धारणा राख्नुभयो । सुधारको सुरुआत संविधानमा रहेको कमजोरीलाई सुधारबाट गर्नुपर्नेमा जोड दिँदै उहाँले सोही प्रयोजनका लागि गठन गरिएको भनिएको वर्तमान सरकारले त्यसतर्फ काम गर्न नसकेको उल्लेख गर्नुभयो । सांसद अर्यालले आफ्ना पार्टीका सभापति रवि लाछिानेमाथि अनावश्यक रूपमा फौजदारी मुद्दा लगाइएकामा आपत्ति प्रकट गर्दै सरकार जसरी पनि थुन्ने प्रक्रियामा लागेको लगाउनुभयो ।
कमजोर अर्थतन्त्र सुधार्ने गरी बजेट आओस्ः राप्रपा अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कमजोर अर्थतन्त्र सुधार्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा धारणा राख्ने क्रममा अध्यक्ष लिङ्देनले शक्ति र पहुँचका आधारमाभन्दा पनि आवश्यकताका आधारमा बजेट ल्याइनुपर्नेमा जोड दिनुभयो । “सरकारमा रहेका नेताको गोजीबाट बजेट बन्ने र उनीहरुको निर्वाचन क्षेत्रलाई मात्र पैसा दिने स्थितिको अन्त्य होस् । बजेट पुस्तिका च्यात्नुपर्ने र विरोध गर्नुपर्ने अवस्थाको अन्त्य होस्”, उहाँले भन्नुभयो ।
गत चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानबिनका लागि आयोग गठनको माग राप्रपाले पुनः दोहो¥याएको छ । उक्त घटनाका क्रममा प्रदर्शनकारीबाटभन्दा पनि सरकारपक्षबाट दमन भएको उहाँको आरोप छ ।
“यदि त्यो घटना सुनियोजित थियो भने कुनै पनि प्रदर्शनकारीबाट प्रहरीले किन हतियार पक्रन सकेन ? प्रदर्शनकारीबाट लट्ठीसम्म बरामद भएको देखिँदैन”, उहाँले भन्नुभयो, “तर प्रहरीबाट ६५० भन्दाबढी राउण्ड अश्रुग्यास चलेको छ । अरु विभिन्न खालका फायरिङ भएका छन् ।” उक्त प्रदर्शनसँग कुनै सम्बन्ध नै नरहेका र बाटो हिँडिरहेका व्यक्तिमाथि गोली प्रहार भएको लिङ्देनको भनाइ छ । प्रदर्शनका क्रममा भाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्तिहरु पक्राउ परेको र ती व्यक्तिलाई कारबाही नगरी छोडिएको आरोपसमेत उहाँले लगाउनुभयो । उहाँले तीनकुने घटना प्रकरणमा न्यायिक आयोग गठनको पुनःमाग गर्नुभयो ।
त्यस्तै, राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भनेर गलत भाष्य बनाइएको उहाँको भनाइ छ । “राजाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध होइन । राजसंस्था र लोकतन्त्र एकअर्काका विकल्प होइनन्”, उहाँले भन्नुभयो, “विश्वमा कतिपय देशमा राजसंस्थासहितको उन्नत प्रजातन्त्र प्रयोगमा छ ।”
राजनीतिक दल र सरकारले लोकतन्त्र विरोधी काम गरिरहेको आरोप पनि लिङ्देनको छ । लोकतन्त्रको विरोधी र पक्षमा को छ भनेर व्यवहारले देखाउने उहाँको भनाइ छ । राजनीतिक दलहरुले निरंकुश व्यवहार गर्न नहुने उहाँले संसद्मा उल्लेख गर्नुभयो ।
