भक्तपुर, २९ वैशाख भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ ।
जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भाँैतारिए पनि अक्सिजन पाउन सकेनन् । मेसु डा गौतमले अक्सिजन कम्पनीदेखि सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नआएपछि समस्या परेको बताउनुभयो ।
सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडेपछि जनकपुरदेखि अक्सिजन ल्याउन शुरु गरेको थियो । तर जनकपुरबाट पनि अक्सिजन सहजरूपमा पाउन छाडेको र टाढाबाट ल्याउँदा कम्तीका दुई दिन लाग्ने हुँदा अक्सिजन अभावले अस्पताल भर्ना भएका कोभिडका बिरामीको ज्यान नै जोखिममा परेको छ ।
सिसीएमसीको लापरवाहीका कारण थप समस्या परेको हो । भक्तपुर अस्पताललाई प्रदेशस्तरीय अस्पताल भन्दै सिसीएमसीले अक्सिजन वितरणको सिफारिसमा दुई दिनदेखि नाम हटाइदिएपछि भक्तपुर अस्पतालले अक्सिजन पाउन नसक्दा दुर्घटनाको अवस्थामा पुगेको अस्पताल प्रशासनको भनाइ छ ।
भक्तपुर अस्पतालले हाल ३३ शय्या जनरल, ४० शय्या हाइकेयर युनिट, छ शय्या आइसीयू, आकस्मिक कक्ष र टेन्टमा समेत शय्या राखेर ७० कोभिडका बिरामीको उपचार गरिरहेको मेसु डा गौतमले जानकारी दिनुभयो । सबै बिरामीलाई हाइफ्लोरको अक्सिजन दिनुपर्ने भएकाले भक्तपुर अस्पतालमा २४ घण्टामा २०० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ । विगतमा सगरमाथा कम्पनीबाट अक्सिजन आपूर्ति गर्दै आएको अस्पतालले त्यहाँ नपाएपछि बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन पाएन । त्यसपछि जनकपुरबाट ल्याएको ८० सिलिण्डर अक्सिजन सकिएको र अरु अक्सिजन नआएपछि हिजो साँझदेखि नै अक्सिजनको अभाव भएको हो ।
डा गौतमले भन्नुभयो, “अस्पतालमा अक्सिजन छैन, सबै बिरामीलाई अक्सिजन दिनुपर्छ, बिरामीको ज्यान जोखिममा छ, अक्सिजन नहुँदा कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी अस्पतालले लिन सक्दैन ।” बिरामीको सङ्ख्या र आवश्यकता हेरेर तत्काल अक्सिजनको व्यवस्था गरिदिन उहाँले आग्रह गर्नुभयो । सिसीएमसीको सिफारिसबिना अक्सिजन दिन नपाउने नियम बनाएपछि अस्पताललाई थप समस्या परेको छ । सिसीएमसीले जथाभावी अक्सिजन कम्पनीमा अस्पतालको नाम र अस्पताललाई आवश्यक पर्ने भन्दा निकै कम मात्रामा अक्सिजनको सिफारिस गर्नाले पनि अभाव भएको अस्पताल सञ्चालकरुको भनाइ छ ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले नवज्योति कम्पनीसँग सहमति गरी रकम जम्मा गरेर अक्सिजन ल्याउने गरे पनि पछिल्लो समयमा सिसीएमसीले अन्यत्रै सिफारिस गरिदिएपछि अक्सिजनको अभाव भएको हो । अस्पताललाई दैनिक ७० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि सिसीएमसीले काभ्रेको एक कम्पनीमा १० सिलिण्डरमात्रै सिफारिस गरिदिँदा अस्पतालले अक्सिजनको थप अभाव झेल्नुपरेको अस्पतालको भनाइ छ ।
“नगरपालिकाले कोभिडका बिरामीका लागि अस्पतालमा १५ शय्या थप गरे पनि अक्सिजन अभाव भएपछि सञ्चालन गर्न सकेको छैन । नयाँ बिरामी भर्ना लिनसक्ने अवस्था छैन ।” नगरपालिकाले करिब रु ६५ लाखको लागतमा एक साताभित्र आफैँ अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएर आकस्मिककक्षमा पाइपमार्फत अक्सिजन दिने व्यवस्था गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । त्यसपछि पनि दैनिक ३० सिलिण्डर अक्सिजन आपूर्ति गर्नुपर्ने हुन्छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णप्रसाद मिजारले अक्सिजन नहुँदा भक्तपुर अस्पतालमा निकै समस्या परेको बताउँदै अन्य निजी अस्पताल भने अक्सिजन नभएकै कारण बन्द हुन थालेको बताउनुभयो ।
काठमाडौँको शिक्षण अस्पतालमा अक्सिजन अभावमा भर्ना भएका कोभिड सङ्क्रमितको ज्यान अत्यन्त जोखिममा परेको भन्दै यहाँका चिकित्सक नै रोएको बिरामीका आफन्त मनोहर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा अक्सिजन छैन, नयाँ बिरामी भर्ना लिन सक्दैनाँै, भर्ना भएका बिरामी बचाउन पनि मुस्किल पर्न थाल्यो भन्दै चिकित्सक रोएको देख्नुप¥यो, बिरामीका आफन्तले कसरी मन सम्हाल्ने ?” अक्सिजन कम्पनीका अनुसार उपत्यकामा अहिले दैनिक १५ हजार लिटर अक्सिजनको माग भए पनि मुस्किलले सात हजार लिटर मात्रै उत्पादन एवं वितरण गर्न सकिएको छ ।
अक्सिजन नभएकै कारण केही दिनअघि भक्तपुर इन्टरनेशनल अस्पतालमा कोभिड सङ्क्रमित दुई बिरामीको ज्यान गएको थियो । अहिले यस अस्पतालसँगै जिल्लाका मध्यपुर अस्पताल, नागरिक कम्युनिटी अस्पताल, समिट अस्पताल, डा इवामुरा अस्पताल तथा सिद्धिस्मृति अस्पतालले कोरोना सङ्क्रमितलाई भर्ना नलिने भएका छन् ।
–––
