दार्चुला, १६ मङ्सिर : दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी हुनुभएको छ ।

वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानसिंह बडालले तीन सय ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभयो । उक्त उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । निर्वाचनमा १५ मत बदर भएको थियो ।

उपनिर्वाचनमा कूल एक हजार दुई सय ७२ मतदातामध्ये आठ सय ७७ (६९.९४ प्रतिशत) मत खसेको थियो । दुहुँ–५ गरमोराको (क) केन्द्रमा २१४ महिला र २२३ पुरुषले मतदान गर्नुभएको थियो भने (ख) केन्द्रमा २६२ महिला र १७८ पुरुष मतदानमा सहभागी भएका निर्वाचन कार्यालयले जनाएको छ । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर